लोड हुँदैछ...

मेनु

दमकबाट प्रधानमन्त्रीका दाबेदारबीच ‘राष्ट्रिय बहस’ गरौँ : शर्मा

दमकबाट प्रधानमन्त्रीका दाबेदारबीच ‘राष्ट्रिय बहस’ गरौँ : शर्मा

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापा–५ को दमकबाटै प्रधानमन्त्रीका प्रस्तावित दाबेदारबीच राष्ट्रिय बहस आयोजना गर्न प्रस्ताव गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग प्रत्यक्ष बहस गर्न कांग्रेस सभापति गगन थापालाई दमकमै पठाउन आफूहरू तयार रहेको शर्माले बताए।

नेपाल प्रेस युनियन झापाले धुलाबारीमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्रीका प्रस्तावित दुई नेता दमकमै भएकाले राष्ट्रिय मिडियासहित ‘लाइभ’ बहस गरौँ भन्ने प्रस्ताव अघि सारे। “दुईजना दाबेदारले जुन दिन र समय भन्नुहुन्छ, त्यही दिन सारा झापाली र राष्ट्रिय मिडिया राखेर खुला बहस गरौँ,” उनले भने, “गगन थापालाई कहिले पठाउने भन्ने जिम्मा मेरो।”

शर्माले चुनाव हुने वा नहुने विषयमा शंका उब्जाउने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरे । उनले चुनावअघि ‘राष्ट्रिय सहमति’को नाममा प्रक्रिया रोक्ने चर्चा फगत कुरा भएको टिप्पणी गरे। काँग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय संयोजकसमेत रहेका उनले देश चुनावमय भइसकेकाले निर्वाचन प्रभावित पार्ने कुनै गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

फागुन २१ मै चुनाव हुनेमा आफूहरू ढुक्क रहेको उल्लेख गर्दै शर्माले कांग्रेस पहिलो पार्टी बन्ने दाबी दोहोर्‍याए । “देश परिवर्तन खोजिरहेको छ, बदलिएको कांग्रेसले जनताको भावना बुझ्छ,” उनले भने, “परिवर्तनको एजेन्डा अब कांग्रेसको एजेन्डा हो।”

शर्माले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन सबै दल र मतदातालाई आग्रह गरे। मत अभिव्यक्त गर्दा पनि संयम अपनाउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।