तपाईँको उम्मेदवारीले सुनसरी क्षेत्र नम्बर १ मा एउटा नयाँ तरंग पैदा गरेको छ । चुनावी अभियान कसरी बढाउँदै हुनुहुन्छ ?
–मेरो चुनावी अभियान उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । अहिलेसम्म मैले करिब ८० प्रतिशत क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छु । बजार र गाउँमा जनताको प्रतिक्रिया निकै सकारात्मक छ । पुराना दलहरूको विकल्पमा र विकासको नयाँ सोचका साथ म मैदानमा आएकाले जनताले मप्रति ठुलो भरोसा देखाएका छन् । म लामो समयदेखि स्थानीय तहमा रहेर जनताको सुख–दुःखमा सँगै छु । त्यसैले मतदाताहरूले मलाई कुनै नयाँ वा अपरिचित मान्छेका रूपमा होइन, आफ्नै परिवारको सदस्यको रूपमा स्वीकार गर्नुभएको छ । विशेष गरी धरान र समग्र सुनसरी-१ का जनताले यस पटक एउटा स्पष्ट भिजन भएको र सबैसँग मिलेर काम गर्न सक्ने प्रतिनिधिको खोजी गरिरहनुभएको छ । त्यो भरोसा ममाथि केन्द्रित भएको पाएको छु ।
राजनीतिक प्रतिस्पर्धामा उत्रिदै गर्दा कस्तो चुनौती महसुस गर्नुभएको छ ?
सुनसरी क्षेत्र नं. १ मा यसपटकको प्रतिस्पर्धा त्रिकोणात्मक हुने देखिन्छ । पुराना दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसको संगठन बलियो भनिए पनि यसपटक उनीहरूको अवस्था कमजोर छ । पार्टीभित्रको टिकट वितरणको असन्तुष्टि र कमजोर उम्मेदवारका कारण उनीहरू रक्षात्मक छन् । मैदानमा अहिले जे सुनिदै छ त्यो अवस्था छैन, जे अवस्था छ त्यो तपाइँहरुले नसुन्नुभएको हुनसक्छ । यहाँ हर्क साम्पाङको मत एउटा निश्चित समूहमा मात्र सीमित देखिन्छ, उपमहानगरमा उहाँको कार्यशैलीप्रति धेरै जनता सन्तुष्ट छैनन् । त्यसैले मेरो मुख्य प्रतिस्पर्धा उहाँसँग होइन अरुसँग हुन्छ ।
विगतमा नेकपाका लागि यो क्षेत्र चुनौतीपूर्ण देखिएको छ । २०६४ सालपछि यहाँ जित हासिल हुन सकेको छैन । यस पटक तपाईँले कसरी इतिहास बदल्दै हुनुहुन्छ ?
–इतिहास सधैँ एकैनास रहँदैन । विगतमा पार्टीभित्रका टुटफुट र केही प्राविधिक कारणले परिणाम फरक आएको हुन सक्छ । तर, अहिले परिस्थिति बदलिएको छ । म वडाध्यक्ष हुँदा होस् वा अन्य सामाजिक काममा, मैले कहिल्यै पार्टीको आधारमा मान्छेलाई भेदभाव गरिनँ । मेरो कार्यशैली ‘साझा र सामुदायिक’ रह्यो । आज नेकपाका कार्यकर्ता मात्र होइन, आम मतदाता र परिवर्तन चाहने शक्तिहरू मेरो पक्षमा गोलबद्ध छन् । म विभाजनको राजनीति होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु । त्यसैले यस पटक इतिहास दोहोरिने होइन, नयाँ इतिहास लेखिनेछ ।

धरानमा पछिल्लो समय केही धार्मिक र सामाजिक असहिष्णुताका संकेतहरू देखिएका थिए । तपाईँको उम्मेदवारीले ती समस्या समाधान हुनेमा जनताले आशा राखेको सुनिन्छ, यसमा तपाईँ के भन्नुहुन्छ ?
– हो, मलाई धेरै मतदाताले यही कुरा भन्नुभएको छ । धरान एउटा बहुसांस्कृतिक र बहुभाषिक फूलबारी हो । यहाँ सबै धर्म र समुदायबीच परापूर्वकालदेखि सुमधुर सम्बन्ध छ । केही समयअघि देखिएका केही असहज परिस्थितिहरूले जनतालाई चिन्तित बनाएको सत्य हो । मेरो उम्मेदवारी नै ‘सामाजिक सद्भाव र एकता’ को लागि हो । म सबै धर्म र समुदायको सम्मान गर्छु । कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्तिले समाजको विकास हुँदैन । म जनप्रतिनिधि हुँदा पनि सबैलाई समान व्यवहार गरेको रेकर्ड जनतासामु छ । त्यसैले, धार्मिक र सामाजिक सद्भाव कायम राख्दै सबैको साझा आवाज बन्नु नै मेरो मुख्य उद्देश्य हो । विगत केही समयदेखि धरान र आसपासको क्षेत्रमा जातीय र धार्मिक असहिष्णुताका संकेतहरू देखिएका छन् । यसले स्थानीयमा एक खालको त्रास र चिन्ता पैदा गरेको छ । म गैर–जनजाति समुदायको उम्मेदवार भए पनि जनजाति बाहुल्य क्षेत्रमा मलाई सबैले आशाको नजरले हेर्नुभएको छ । उहाँहरू भन्नुहुन्छ— “तपाईंको उम्मेदवारीले समाजमा धार्मिक र जातीय अराजकता रोक्न र सद्भाव कायम गर्न मद्दत गर्नेछ ।“ म सबैलाई समेटेर एउटा साझा र शान्त समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
तपाईँले मेयर हर्क साम्पाङका कतिपय कार्यशैलीको कडा प्रतिवाद गर्नुभयो । अहिले उनी पनि चर्चामा छन्, तपाईँको मुख्य प्रतिस्पर्धा कोसँग हो ?
– हेर्नुस्, म व्यक्तिलाई भन्दा प्रवृत्तिलाई हेर्छु । मेयर साम्पाङजीका केही राम्रा कामलाई मैले सधैँ साथ दिएको छु । तर, उहाँका कतिपय अव्यवहारिक र ‘फोर्सफुल’ कामहरू जसले नागरिकको भावनामा चोट पुर्याउँछ, त्यसको प्रतिवाद गर्नु मेरो कर्तव्य थियो । जहाँसम्म प्रतिस्पर्धाको कुरा छ, म साम्पाङजीलाई मेरो प्रतिस्पर्धी नै मान्दिनँ । उहाँको एउटा आफ्नै शैली होला, तर राष्ट्रिय राजनीति र नीति निर्माणको तहमा एउटा परिपक्व र सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व आवश्यक हुन्छ । उहाँ मसँग प्रतिस्पर्धामै हुनुहुन्न । मेरो प्रतिस्पर्धा त यस क्षेत्रमा रहेको बेरोजगारी, खानेपानीको समस्या र सुकुम्बासी समस्यासँग हो । जनताले मलाई एउटा भरपर्दो विकल्पको रूपमा देखिसक्नुभएको छ ।
चुनावमा उम्मेदवार भएर जनताको बिचमा जाँदा तपाईंलाई नै जनताले किन मत दिनु पर्ने ? के हुन् तपाईँका एजेण्डा ?
–मेरो उम्मेदवारीको मुख्य मर्म भनेको सुनसरी क्षेत्र नं. १ का जनताको मन र यहाँको भूगोललाई भौतिक रूपमा जोड्नु हो । भूगोल जोड्नुको अर्थ सडक सञ्जालमार्फत विकासको मूल प्रवाहमा सबैलाई ल्याउनु हो । मैले क्षेत्र नं. १ को जुनसुकै कुनाबाट अर्को कुनामा आधा घण्टाभित्र पुग्न सकिने गरी सडक सञ्जालको गुरुयोजना बनाएको छुः सडक सञ्जालः धरानलाई वराहक्षेत्रका ५ वटा वडाहरूसँग जोड्ने । बाङ्गेदेखि नहडा हुँदै धरान जोड्ने, कालाबन्जर–तीनकुने हुँदै धरान जोड्ने र रामधुनी–पन्चायन हुँदै धरान जोड्ने सडक ।
ग्रामिण र शहरी सम्बन्धः वसन्तपुर–हाडेअठिया हुँदै कन्यापोखरी जोड्ने र विष्णुपादुका–सूर्यकुण्ड हुँदै वराहक्षेत्र जोड्ने सडक निर्माण गर्ने आदि सडक पूर्वाधार मार्फत यो क्षेत्रलाई बहुआयामिक कनेक्टिभिटीमा लैजाने मेरो उद्देश्य छ ।
तपाईंले उम्मेदवारी दिनुभएको क्षेत्र धार्मिक पर्यटनको दृष्टिीले निकै महत्त्वपूर्ण सम्भावना बोकेको क्षेत्र पनि हो, तर ती तपाईंको एजेण्डमा परेनन् ?
–धार्मिक पर्यटनको विकास मेरो एजेण्डमा छुट्ने कुरै हुँदैन । मेरो क्षेत्र धार्मिक पर्यटनको केन्द्र हो । वराहक्षेत्र, चतराधाम, पिण्डेश्वर र दन्तकाली जस्ता ऐतिहासिक र पवित्र स्थलहरूलाई जोडेर एउटा ‘धार्मिक सर्किट’ निर्माण गर्ने मेरो योजना छ । यी स्थलहरूलाई व्यवस्थित सडक सञ्जालले जोडेर तीर्थयात्रीहरूका लागि सुविधायुक्त बनाइनेछ । धार्मिक पर्यटनलाई स्थानीय अर्थतन्त्रको आधार बनाइनेछ ताकि यहाँका युवाहरूले यहीँ रोजगारी पाउन सकून् । हाम्रो भूगोलको विकास र यहाँको धार्मिक आस्थालाई सम्मान गर्दै सुनसरी–१ लाई देशकै नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाउन म दृढ संकल्पित छु ।
अन्तमा, मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
– म यति मात्र भन्न चाहन्छु कि—तपाईँहरूले मलाई दुई पटक वडाध्यक्षको रूपमा जाँच्नुभएको छ । मैले कहिल्यै तपाईँहरूको शिर निहुरिने काम गरिनँ । अब मलाई देशको मूल थलो, संसदमा पुगेर तपाईँहरूको आवाज उठाउने अवसर दिनुहोस् । म परिवर्तनकारीहरूको मत, सद्भाव चाहनेहरूको मत र समृद्ध सुनसरी चाहनेहरूको मतको सम्मान गर्नेछु । मेरो जित भनेको तपाईँहरूको साझा भावनाको जित हुनेछ । हामी मिलेर यो क्षेत्रलाई नमुना बनाउनेछौँ । पुराना दलहरूसँग जनता थाकिसकेकाले र नयाँ विकल्पहरूमा पनि स्पष्ट भिजनको अभाव देखिएकाले मेरो उम्मेदवारी नै यहाँको विकास र सद्भावको लागि उत्तम विकल्प हो भन्ने मेरो ठहर छ । धन्यवाद ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।