लोड हुँदैछ...

मेनु

घण्टी बोकेर चुनाब प्रचार गर्न निर्वाचन आयोगको रोक

घण्टी बोकेर चुनाब प्रचार गर्न निर्वाचन आयोगको रोक

विराटनगर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग गर्न नपाइने निर्देशन जारी गरेको छ।

धातु, काठ वा अन्य सामग्रीबाट बनेका सक्कली घण्टी, खुकुरी, डोजर जस्ता सामग्री लिएर प्रचारमा ननिस्कन दल र उम्मेदवारलाई आयोगले चेतावनी दिएको हो।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले ‘घण्टी’ बजाउँदै देशका विभिन्न स्थानमा आतंक सिर्जना गरेको भन्दै व्यापक गुनासो आयोगमा परेको थियो। प्रतिद्वन्द्वी दलहरूले यसलाई आचारसंहिता उल्लंघन मात्र नभई सार्वजनिक सुरक्षासँग जोडिएको विषयका रूपमा उठाएका थिए। विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले औपचारिक विज्ञप्ति नै जारी गर्दै “घण्टी बजाउँदै हिँड्दा आयोग किन मौन ?” भनेर प्रश्न गरेको थियो।

यस विवादलाई कतिपयले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको ‘डोजर शैली’ सँग तुलना गर्दै प्रचारलाई प्रतीकात्मक आक्रामकतर्फ धकेल्ने प्रयास भएको टिप्पणी गरेका थिए। निर्वाचन चिन्हलाई प्रत्यक्ष भौतिक वस्तुका रूपमा प्रयोग गर्दा भीड व्यवस्थापन, सुरक्षा र अनुशासनमा चुनौती थपिने आयोगको निष्कर्ष छ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी सूचनामा आम जनमानसको सुरक्षामा असर पर्ने गरी कुनै पनि प्रकारका भौतिक निर्वाचन चिह्न प्रयोग नगर्न स्पष्ट निर्देशन दिइएको छ। आचारसंहिता विपरीत कार्य भए तत्काल कारबाही हुने चेतावनी पनि दिइएको छ।

निर्णयसँगै अब रास्वपाले प्रचारका क्रममा घण्टी बजाउन नपाउने भएको छ भने अन्य दलले पनि खुकुरी वा हतियारजस्ता देखिने सामग्री प्रदर्शन गर्न पाउने छैनन्। आयोगले दलहरूलाई झण्डा, पोस्टर, पम्प्लेट र कानुनी रूपमा स्वीकृत माध्यममार्फत मात्र प्रचार गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।