विराटनगर । मोरङ क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वार इरन राई काँग्रेसका उम्मेद्वार सुनिल शर्माको घरमै पुगेर भलाकुसारी गरेका छन् । मोरङ ३ बाट निर्वाचनमा यसअघि विजयी भएका काँग्रेसका शर्मा यस पटक पनि चुनाव जित्न चाहन्छन् । तर, उनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार गणेश कार्की भारी बन्दै गएको सो क्षेत्रमा चर्चा छ । यही चर्चाकाबीच दुई उम्मेद्वारबीच एकआपसमा भएको भलाकुसारीले सो क्षेत्रमा एमाले र काँग्रेसबीच गठबन्धन हुन लागेको हल्ला फैलिएको छ ।
सो क्षेत्रमा पर्ने पथरीका एक जना स्थानीयले भने, ‘त्यो भेट जम्माभेट मात्रै हो जस्तो लाग्दैन । यहाँ काँग्रेसलाई एमालेले सघाउने गरी छलफल भएको बुझेको छु ।’ काँग्रेस उम्मेद्वारलाई एमालेले मोरङ ३ मा सघाए झापा ५ मा एमालेलाई काँग्रेसले सघाउने ती व्यक्तिले दाबी गरे ।

झापा ५ मा बालेनले उम्मेदवारी दर्ता गराएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । आफ्नो संकट टार्न ओलीले मोरङ ३ मा काँग्रेसलाई दिएर आफूले सहयोग लिन खोजेको बताइएको छ ।
एमालेका उम्मेदवार इरान राई बुधबार एकाएक सुनिल शर्माको निवासमा पुगेका थिए । राई त्यहाँ पुगेको फोटो सामाजिक सञ्जालमा विभिन्न हिसावले प्रचार भइरहेको छ । एमाले र काँग्रेस कार्यकर्ताहरुले सौहर्दताको नमुना भन्दै फोटो सार्वजनिक गरेका छन् भने अरु पक्षले भने त्यो गठबन्धनको गन्ध हुनसक्ने भन्दै चर्चा र बहस गरिरहेका छन् ।
काँग्रेसका नेता महेन्द्र सुवेदीले भने गठबन्धन गरेको हल्लामा कुनै सत्यता नभएको बताए । ‘यो जम्माभेट मात्रै हो । इरनजीहरु घरदैलो कार्यक्रममा सुनिल जीको घरमा पुग्नु भएको रहेछ । खाना खाने समय भएकोले सुनिल जी पनि त्यही हुँदा भेट भएको हो । अन्यथा लिनु हुँदैन,’ सुवेदीले भने, ‘हामी पनि घरदैलोमा जाँदा एमालेका उम्मेद्वार, नेकपाका उम्मेद्वारसँग भेटघाट गरेकै छौं । रास्वपाका उम्मेद्वार गणेशजीसँग पनि हाम्रो सौहार्दै छ ।’ उनले विगतमा काँग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने र बोलचाल नै बन्द हुनेजस्तो परिस्थितिबाट आज कसरी यस्तो हुन गयो भन्ने विषयमा चर्चा भएको हुनसक्ने बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।