लोड हुँदैछ...

मेनु

सङ्कटमा देश सम्हाल्ने क्षमता काँग्रेससँग मात्र छ : शर्मा

सङ्कटमा देश सम्हाल्ने क्षमता काँग्रेससँग मात्र छ : शर्मा

धरान । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान् दल नेपाली काँग्रेस मात्रै भएको बताएका छन्।

सुनसरी धरानमा सुनसरी–१ का काँग्रेस उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै शर्माले राष्ट्रिय सङ्कटको घडीमा सिकारुलाई देश जिम्मा लगाउन नहुने र परिपक्व, अनुभवी शक्तिलाई नेतृत्व दिनुपर्ने जिकिर गरे ।

निर्वाचनको मैदानमा ‘आँधी–हुरी’ चलेको बेला पनि देशको बागडोर सम्हाल्न सक्ने शक्ति काँग्रेस मात्र भएको उल्लेख गर्दै शर्माले राज्य सञ्चालन खेल नभई जिम्मेवारी भएको बताए। इतिहासदेखि नै सङ्कटको घडीमा देशलाई सम्हाल्दै आएको दाबी गर्दै उनले यसपटकको निर्वाचन राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताए।

तत्कालीन माओवादीको १० वर्षे जनयुद्ध अन्त्य गर्न र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन काँग्रेसले निर्णायक भूमिका खेलेको स्मरण गराउँदै शर्माले ‘बन्दुकले बन्दुकको समाधान हुँदैन’ भन्ने सिद्धान्तमार्फत गिरिजाप्रसाद कोइरालाले देशलाई रक्तपातबाट जोगाएको बताए। संविधान निर्माणको संवेदनशील घडीमा सबै पक्षलाई समेटेर अघि बढ्ने काम पनि काँग्रेसले नै गरेको उनको भनाइ थियो।

शर्माले काँग्रेसलाई परिपक्व माझीको संज्ञा दिँदै सङ्कटको बेला अनुभवी नेतृत्व आवश्यक हुने बताए। नयाँ पुस्ताको आक्रोश र मागलाई सम्बोधन गर्न सक्ने शक्ति पनि काँग्रेस नै भएको उनको दाबी छ। फागुन २१ गतेको निर्वाचनका लागि १६५ क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ अनुहार उम्मेदवार उठाएको उल्लेख गर्दै उनले युवा, महिला र दलित प्रतिनिधित्व बढाइएको जानकारी दिए।

सुनसरी–१ का उम्मेदवार सुजेन्द्र तामाङ योग्य र इमानदार उम्मेदवार भएको बताउँदै उनले रुख चिन्हमा मतदान गरी उनलाई विजयी बनाउन आग्रह गरे। साथै समानुपातिकतर्फ निर्मला गुरुङलाई मत दिन अपिल गर्दै त्यसले गगन कुमार थापालाई प्रधानमन्त्री बनाउने बाटो खोल्ने बताए।

काँग्रेस सभापति थापा अनुभव, उत्साह र स्पष्ट भिजन भएका नेता भएको उल्लेख गर्दै राजनीतिक स्थिरताका लागि पूर्ण पाँच वर्ष सरकार चल्ने संस्कार विकास गर्नुपर्नेमा शर्माले जोड दिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds