खोटाङ । खोटाङ जिल्लाको साकेला गाउँपालिका–४ मानेभन्ज्याङस्थित निर्माणाधीन सामुदायिक भवनमा आगलागी भएको छ। बुधबार बिहान करिब साढे ६ बजेतिर लागेको आगोले ठूलो क्षति पुर्याएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर राईका अनुसार करिब ४ करोड रुपैयाँको लागतमा निर्माणाधीन भवनमा आगलागी हुँदा ३ करोड १५ लाख ३६ हजार रुपैयाँबराबरको क्षति भएको मुचुल्का उठेको छ। भवन तीन तलासम्म ढलान सम्पन्न भइसकेको अवस्थामा थियो।
निर्माणाधीन भए पनि उक्त भवन आवासका रूपमा प्रयोग हुँदै आएको थियो। भवनमा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, लेखापाल उत्तम आचार्य तथा सूचना अधिकारी डीएम चाम्लिङ बस्दै आएका थिए।
स्थानीय बासिन्दा, गाउँपालिका कर्मचारी र प्रहरीको प्रयासमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिएका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी राजु विष्टले बताएका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।