धनकुटा । धनकुटा प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न रहेको आरोपमा १५ भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको छ।
लागूऔषध ब्राउनसुगर र गाँजा ओसारपसारमा संलग्न कारोबारीहरूसँगै उनीहरूले प्रयोग गरेका साना तथा ठूला सवारीसाधन जफत गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमा ४ वटा कार, ४ वटा पिकअप, २ वटा जीप, भन्सार छुटमा ल्याइएका आकस्मिक सेवाका २ वटा एम्बुलेन्स तथा २ वटा ट्रक र मिनिट्रक रहेका छन्। ती सवारीसाधन विगत चार आर्थिक वर्षमा विभिन्न समयमा पक्राउ परेका लागूऔषध कारोबारीहरूसँगै जफत गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार लागूऔषध ओसारपसारमा भारतीय नम्बर प्लेटका सवारीसाधनसमेत प्रयोग भएको पाइएको छ। त्यस्तै, आकस्मिक सेवाका नाममा सञ्चालन हुने एम्बुलेन्ससमेत गाँजा ओसारपसारमा प्रयोग गरिएको खुलासा भएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनहरू धनकुटा सदरमुकाममा प्रहरीले पहिले प्रयोग गरेको पुरानो कार्यालय रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयको उत्तरपट्टि रहेको जमिनमा थन्क्याएर राखिएको छ। केही सवारीसाधन भने मूलघाट प्रहरी चौकी परिसरमा राखिएको छ।
एसपी थापा क्षेत्रीका अनुसार सवारीसाधनहरूको भविष्य अदालतको अन्तिम निर्णयपछि मात्र तय हुनेछ। कसुरको प्रकृति, परिमाण, संलग्नता र प्रमाणका आधारमा अदालतले फैसला गर्ने भएकाले त्यसअघिसम्म ती सवारीसाधन प्रहरीकै रेखदेखमा राखिएको छ।
यसैबीच धनकुटामा पछिल्ला वर्षहरूमा लागूऔषध दुर्व्यसन तथा ओसारपसार सम्बन्धी मुद्दा निरन्तर बढिरहेका छन्। आर्थिक वर्ष २०७७–०७८ मा ४ वटा, २०७८–०७९ मा १० वटा, २०७९–०८० मा २१ वटा, २०८०–०८१ मा २० वटा र २०८१–०८२ मा ५७ वटा मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्षको पुष मसान्तसम्म मात्रै १५ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।