विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सोमबारबाट औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ । प्रसार प्रसार सुरु भएसँगै देशभरमा जस्तै खोटाङको राजनीतिक सरगर्मी पनि बढेको छ । जिल्लामा मुख्य प्रतिस्पर्धी दलका रूपमा देखिएका नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच शक्ति प्रदर्शन र मतदाता फकाउने होडबाजी सुरु भएको छ ।
यसपटकको निर्वाचनमा खोटाङमा रोचक मोड देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामपन्थी बुद्धिजीवि डाक्टर हरि रोकालाई चुनावी मैदानमा उतारेको छ । रोकाको पक्षमा देशभरका बुद्धिजीविहरूले भोटको अपिल गरिरहेका बेला पुराना शक्ति मानिने काँग्रेस र एमाले भने आफ्नो सांगठनिक मत सुरक्षित राख्ने रणनीतिमा छन् ।
नेपाली काँग्रेसका उम्मेदवार वीरकाजी राईले यसपटक काँग्रेसभित्र अभूतपूर्व एकता रहेको दाबी गरेका छन् । राईले भने, ‘अहिले चुनावी रणनीति हाम्रो के छ भने काँग्रेसको सामूहिक रूपले नै सबैलाई जिम्मेवारी भएर सबै खटिएका छौँ । संगठनात्मक रूपबाट चाहिँ निर्वाचन परिचालनका निम्ति उम्मेदवारले आफ्नो अनुकूल अनुसार निर्णय गर्ने सर्वसम्मत भएको छ ।’
राईले काँग्रेसको अवस्था सुरक्षित रहेको बताए । ‘काँग्रेसको आफ्नो मत सुरक्षित गर्दा पनि जितिन्छ भन्ने हाम्रो छ । अहिले सबै नेताहरू एकसाथ खटिनुभएको छ, त्यसैले हाम्रो सम्भावना बलियो छ,’ उनले भने । उनले नयाँ पार्टीहरूको उदयले केही चुनौती थपे पनि काँग्रेसको आधारभूत मत नखस्किने बताए ।
नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले विगतको निर्वाचनको तथ्याङ्कलाई मुख्य आधार बनाएका छन् । २०७९ सालको निर्वाचनको परिणाम स्मरण गर्दै उनले भने, ‘७९ सालको डेटाले पनि हामी पहिलो पार्टी हौँ । त्यतिबेला पाँचवटा दल मिल्दा पनि हामी २६ सय मतको अन्तरले मात्र पछि परेका थियौँ । समानुपातिक तर्फ हाम्रो धेरै मत छ । काँग्रेस र नेकपा क्रमशः दोस्रो र तेस्रो हो ।’
नयाँ पार्टीहरूको प्रभाव देखिएपनि परिणाममा धेरै फेरबदल नहुने उनले दाबी गरे । ‘नयाँ भनिनेहरूले हाम्रो कम क्षति गरेका छन् । माटो (श्रम संस्कृति) को अलि हल्लाखल्ला छ, घण्टीको पनि सुशुप्त रूपमा समर्थक छन्, तर जित्ने गरी उनीहरूको मत छैन । हाम्रो मुख्य प्रतिस्पर्धी नै काँग्रेस हो,’ उनले भने । उनले एमालेको संगठन सबै वडामा बलियो रहेको र नेताहरूबीचको एकता नै जितको मुख्य आधार भएको बताएका छन् ।
उता, २६ वर्षअगाडि २०५६ सालको आमनिर्वाचनमा खोटाङबाट तारा चुनाव चिह्न लिएर उठेका अर्थविद् डाक्टर हरि रोका यसपटक पुनः नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार बनेका छन् । एमालेबाट विभाजन भएर बनेको मालेका उम्मेदवारको रूपमा २०५६ सालमा चुनाव लड्दा रोका तेस्रो भएका थिए । त्यतिबेला उनलाई नेपाली कांग्रेसका शिवकुमार बस्नेतले हराएका थिए ।
नेकपाको तर्फबाट डा. रोकालाई अघि सारेका रामकुमार राई (पासाङ) ले भने काँग्रेस र एमाले दुवैको अवस्था अहिले खस्किएको दाबी गरे । ‘हामी ६ जना पूर्व सांसद, मन्त्रीहरू हुँदाहुँदै पनि यो जटिल परिस्थितिमा हरि रोकालाई उठाउनुपर्छ भन्ने निष्कर्षमा पुग्यौँ । उहाँ बौद्धिक व्यक्तित्व भएकाले सबैले स्वीकार गर्नुभएको छ,’ पासाङले भने ।
उनले काँग्रेस र एमालेको आन्तरिक कलह र गिर्दो शाखले नेकपालाई फाइदा पुग्ने विश्लेषण गरे । पासाङले भने, ‘अहिले एमालेको एकदम गिर्दो अवस्था छ, फिल्डमा निस्किनै सकेको छैन । काँग्रेस पनि तीन खण्डमा विभाजित छ । यस्तो अवस्थामा बौद्धिक समुदाय र आम जनताले हरि रोकालाई नै रोज्नेछन् ।’
खोटाङमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र धरानका मेयर हर्क साम्पाङको प्रभाव मानिने श्रम संस्कृति पार्टीले कति मत काट्छन् भन्ने विषय चर्चाको केन्द्रमा छ । एमाले उम्मेदवार देवविक्रम राईका अनुसार हर्क साम्पाङको जन्मथलो खोटाङ भएकाले श्रम संस्कृति पार्टीले केही मत प्रभावित गर्न सक्छ । तर, रास्वपाको उम्मेदवार पुराना पार्टी घुमेर आएका व्यक्ति नै भएकाले उनीहरूले पुरानो शक्तिलाई खासै धक्का नदिने एमालेको विश्लेषण छ । यता काँग्रेसले भने नयाँ पार्टीहरूको एजेन्डा नभएको र उनीहरूले केवल हल्ला मात्र गरेको आरोप लगाएको छ ।
काँग्रेस र एमाले आफ्नो सांगठनिक किल्ला जोगाउन लागिपरेका छन् भने नेकपा डा. हरि रोकाको व्यक्तित्व र बौद्धिक अपिलको भरमा जित निकाल्ने दाउमा छ । बुद्धिजीविहरु पिताम्बर शर्मा, खगेन्द्र संग्रौला, प्राध्यापक कृष्ण पोखरेललगायतले सामाजिक सञ्जाल फेसबुकबाटै भिडियो सन्देश दिँदै रोकाका लागि भोट मागिरहेका छन् । देशभरका बुद्धिजीविहरूको नजर खोटाङमा सोझिएको बेला नयाँ पार्टीहरू रास्वपा र श्रम संस्कृति पार्टीले काट्ने मतले नै हार–जितको फैसला गर्ने देखिन्छ । फागुन २१ को परिणाम कसको पोल्टामा जान्छ, त्यसका लागि भने केही दिन कुर्नैपर्ने हुन्छ ।
विगतको इतिहास
गणतन्त्रको स्थापनायताका निर्वाचनमा नेपाली काँग्रेसले खोटाङको संसदीय निर्वाचनमा २०७९ सालको प्रदेशसभा निर्वाचनमा भुपेन्द्र राई विजयी बने । उनले बाहेक काँग्रेसबाट सांसदका उम्मेद्वार बनेकाहरुले विजयको स्वाद चाख्न पाएका छैनन् । २०४८ र २०५१ सालमा खोटाङमा एमालेले जितेको थियो । २०५६ सालमा भने खोटाङको दुवै क्षेत्रबाट काँग्रेसका शिवकुमार बस्नेत र सर्वधन राई निर्वाचित भएका थिए ।
२०६४ सालको पहिलो संविधानसभामा माओवादीकी समिता कार्की र रामकुमार राई पासाङ विजयी बने । त्यसबेला एमाले र काँग्रेसका उम्मेद्वार पराजित बने । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने एमालेका विशाल भट्टराई र पाँचकर्ण राई विजयी बने । माओवादी देशैभरबाट पराजित भइरहँदा पनि काँग्रेसले खोटाङमा अर्को बामपन्थी दल एमालेलाई पराजित गर्न सकेन ।
पुनः २०७४ सालमा खोटाङमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका एमालेका विशाल भट्टराईले ३७ हजार ८३७ मत ल्याएर काँग्रेसका सरस्वती वजिमयलाई पराजित गरेका थिए । त्यसबेला काँग्रेसका वजिमयले २३ हजार ४६५ मत ल्याएका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने काँग्रेससहित ५ दलको सहयोगमा तत्कालिन माओवादी केन्द्रका रामकुमार राई विजयी भए । राईले ३१ हजार ३५१ मत ल्याउँदा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत ल्याएका थिए ।
२०७९ सालमा खोटाङमा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो । एमालेले २४ हजार २७१, काँग्रेसले १८ हजार ६७२, तत्कालिन माओवादीले ११ हजार ८४५ र तत्कालिन एकीकृत समाजवादीले ३ हजार ३६३ मत ल्याएका थिए । रास्वपाले भने समानुपातिकमा त्यसबेला १ हजार ४९७ मत ल्याएको थियो ।
मतदाताको अवस्था
खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम छन् । दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार ६५६ र महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता छन् भने सबैभन्दा कम साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता रहेका छन् । एक हजार ८८१ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचनका लागि खोटाङमा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।