विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनले भोजपुरलाई यतिबेला एउटा जिल्लाको चुनावमा मात्र सीमित राखेको छैन, यो दुई पूर्व मुख्यमन्त्री र प्रभावशाली नेताहरूको प्रतिष्ठाको लडाइँ बनेको छ ।
एकातिर नेकपा एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई आफ्नो विरासत फर्काउन चाहन्छन् भने अर्कोतिर पूर्व मुख्यमन्त्री राजेन्द्र राई शेरधनलाई रोक्दै अजम्बर राई काङमाङलाई जिताउने दाउमा छन् । दुवैको प्रतिस्पर्धा बढ्दै जाँदा नेपाली काँग्रेस भने इतिहासमै पहिलो पटक भोजपुरमा जित दर्ज गराउने योजनामा छ । जिल्लामा हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार भने तीन ठूला प्रतिस्पर्धी पार्टीका लागि टाउको दुखाइ बनेका छन् ।
एमालेका उम्मेदवार शेरधन राई आफ्नो सङ्गठनात्मक शक्ति र विगतको नतिजामा ढुक्क देखिन्छन् । उनी भन्छन्, ‘भोजपुरमा नेकपा एमाले नै पहिलो पार्टी हो, एकल–एकल हुँदा त एमाले अरूभन्दा ५–७ हजार मतान्तरले अगाडि छ ।’ राईका अनुसार उनको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस हो र बाँकी दलहरू पछिपछि छन् ।
यहाँबाट एमालेका शेधरन राई, काँग्रेसबाट बालकृष्ण थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट अजम्बर राई काङमाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश प्रसाद ओझा, श्रम संस्कृति पार्टीबाट ध्रवराज राईलगायत १२ जनाको उम्मेद्वारी परेको छ ।
नयाँ शक्तिको रुपमा भोजपुरमा उदाएका रास्वपा र श्रम संस्कृति पार्टीले कुन पार्टीको बढी भोट काट्छ भन्ने आ–आफ्ना विश्लेषण छन् । ‘राई समुदायकै तीनजना उम्मेदवार हामी हुँदा एमालेको भोट अलिअलि काटिएला, तर धेरैजसो मत त माटोले अरुकै काट्छ,’ नेता शेरधन राईले भने । उनी गैर–राई समुदायको मत आफ्नो पक्षमा निर्णायक हुनेमा विश्वस्त छन् । ‘गैर–राई मतहरू एमालेतिरै थपिन्छन्, त्यसैले हाम्रो विजय निश्चित छ,’ उनले दाबी गरे । राईले काँग्रेसमा खस आर्य उम्मेद्वार छन् र आफ्नो पार्टीले जित निकाल्छ भन्ने भ्रम रहेको बताए भने नेकपामा रहेको पूर्व माओवादीहरुको अवस्था छिन्नभिन्न रहेको दाबी गरे ।
एमाले र कांग्रेसले ‘माटो’ को चर्चा धेरै भएको तर त्यसले निर्णायक मत ल्याउन नसक्ने दाबी गरेका छन् । शेरधन राईको विश्लेषण छ, ‘माटोले ५ हजार जति मत काट्ला, तर त्यो एमालेको मात्र होइन, कांग्रेस र नेकपाको पनि काट्छ ।’
शेरधनले भोजपुरमा एमाले सबैभन्दा ठूलो र सङ्गठित शक्ति रहेको, अघिल्ला निर्वाचनका आधारमा समानुपातिक मतमा अरु पार्टीभन्दा ५–६ हजारको ठूलो मतान्तर रहेको, आफ्नो त्यो सुरक्षित मत अहिले पनि कायमै रहेको, आफू प्रदेश नं. १ को संस्थापक मुख्यमन्त्री हुँदा जिल्लामा गरेका विकास निर्माणका कामहरू र आफ्नो राजनीतिक उचाईंले गर्दा जनताले पुनः विश्वास गर्ने, पूर्व माओवादी केन्द्रको मत चिलबिल अवस्थामा रहेको र उनीहरूका कतिपय मतदाताले आफ्नो अनुहार र काम हेरेर एमालेलाई नै मत दिने बताएको, क्षेत्री, ब्राह्मण आदि समुदायको मत एमालेमा आउने भएकोले आफ्नो जित हुने आधार प्रस्तुत गरे ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अजम्बर राई काङमाङ राई भने यसपटक एमालेविरुद्ध कडा घेराबन्दी भएको बताउँछन् । उनले एमालेभित्रको आन्तरिक कलह र मतदाताको निराशालाई आफ्नो जितको आधार बनाएका छन् । काङ्माङ भन्छन्, ‘शेरधनजीप्रतिको वितृष्णा त अहिले घृणाभावमा परिणत भएको छ । शिक्षक र कार्यकर्ताहरू उहाँको कार्यशैलीबाट आजित छन्, उनीहरूले यसपटक बदला लिने मुड बनाएका छन् ।’
अजम्बरको पक्षमा पूर्व मुख्यमन्त्री राजेन्द्र राईको बलियो समर्थन छ । राजेन्द्र राई विकासवादी नेता भएको र आफूलाई दरिलो साथ रहँदा आफ्नो जित निश्चित जस्तै भएको अजम्बरको दाबी छ । ‘शेरधनजी मुख्यमन्त्री हुँदा ४ किलोमिटर सडक बन्यो, राजेन्द्र राई हुँदा ७२ किलोमिटर कालोपत्रे भयो । जनताले विकास हेरेर भोट दिन्छन्, राजेन्द्रजी त अहिले मेरो कमाण्डर नै हुनुभयो । उहाँका कारण पनि मलाई मानिसले विश्वास गर्छन्,’ अजम्बरले भने । अजम्बरले आफ्नो पार्टीभित्र देखिएको विवाद र असन्तुष्टि सुल्झाइसकेको बताए । उनले पनि ‘माटो’ र ‘घण्टी’ को चर्चालाई सामाजिक सञ्जालको हल्ला मात्र भएको दाबी गरे । ‘जसलाई उनीहरूले ‘माटो’ भनिरहेका छन्, ती मतदाता नामावलीमै नाम नभएका र सामाजिक प्रभाव नभएका युवाहरूको समूह मात्र हो । उनीहरू निर्णायक शक्ति होइनन्,’ काङ्माङ भन्छन् ।
काङ्माङले पूर्वमुख्यमन्त्री राजेन्द्र राई आफैं निर्वाचन परिचालन समितिको संयोजक रहेकाले त्यसले थप ऊर्जा र शक्ति प्रदान गरेको, सानादुम्मा, ठुलादुम्मा, अरुण र पौवादुम्मा जस्ता क्षेत्रहरूमा आफ्नो राम्रो प्रभाव रहेको र आमचोकमा पहिले नै जितेको हुनाले ती क्षेत्रहरू सुरक्षित रहेको, एमाले नेता शेरधन राईप्रति मतदाताहरू असन्तुष्ट रहेको र नयाँ भनिएका पार्टीहरुको चर्चा भए पनि उनीहरूको प्रभाव निर्णायक नभएको निष्कर्ष निकालेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा राई भने यसपटक भोजपुरमा कांग्रेसले इतिहास रच्ने दाबी गर्छन् । ‘कांग्रेस यसपटक पहिलो हुने दौडमा छ,’ उनले भने । कांग्रेसको जितको अर्को मुख्य आधार केन्द्रीय राजनीतिमा गगन थापा र विश्वप्रकाश शर्माको प्रभावलाई मानिएको छ । सभापति वान्तवा थप्छन्, ‘गगन थापा र विश्वप्रकाशजीले ल्याएको पार्टी रूपान्तरणको लहरले भोजपुरका युवाहरूमा नयाँ उत्साह भरेको छ ।’
पटकपटक बामपन्थीहरुले जित्दा पनि केही नभएको र यस पटक काँग्रेसलाई जिताउन युवाहरु मैदानमा उत्रिएको उनको दाबी छ । उनले एमाले र नेकपाको मत विभाजनलाई कांग्रेसका लागि ‘सुरक्षित अवतरण’ को मौका भनेका छन् । वान्तवाका अनुसार, एमालेभित्रको असन्तुष्ट मत ‘माटो’ तिर जाँदा कांग्रेसलाई जित्न थप सहज हुनेछ ।
वान्तवाले पार्टीको विशेष महाधिवेशनपछि गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूको आगमनले सर्वसाधारण र विशेषगरी युवाहरूमा ठूलो उत्साह जगाएको, बालकृष्ण थापाको स्वच्छ छवि रहेको, एमालेभित्र ठूलो असन्तुष्टि रहेको र पार्टी टुक्रा–टुक्रा भएको, पूर्व माओवादी केन्द्रको पेलान र डर–धम्कीबाट आजित भएका मतदाताहरू अहिले स्वतन्त्र महसुस गर्दै कांग्रेसको पक्षमा खुलेको, पार्टी संगठन बलियो बन्दै गएको विषयलाई जितको आधारको रुपमा व्याख्या गरे ।
एमालेको कोशी प्रदेश कमिटी सदस्य त्यागेर श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका ध्रुवराज राईले जिल्लामा आदिवासी जनजातिको भोट मनग्गे काट्ने देखिन्छ । जिल्लामा राईहरुको संख्या ३४ प्रतिशत हाराहारीमा रहेका छन् । ध्रुवराज ती पात्र हुन्, जसले २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट ट्याम्के मैंयुँ गाउँपालिकाको अध्यक्षमा विजयी बनेका थिए । २०७९ सालको स्थानीय निर्वाचनमा भने उनी काँग्रेससँग सोही पालिकाको अध्यक्षमा पराजित बनेका थिए । राई एमालेका कोशी प्रदेश समिति सदस्यबाट राजीनामा दिएर हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा आबद्ध हुँदै प्रतिनिधिसभाको उम्मेद्वार बनेका हुन् । १२ दल चुनावी मैदानमा रहेको भोजपुरमा १ लाख २५ हजार ७ सय ६६ मतदाता छन् । जिल्लामा ८७ मतदान स्थल र १५५ मतदान केन्द्र छन् ।
विगतको इतिहास
एमालेका शेरधन राईका लागि यो निर्वाचन आफ्नो गुमेको विरासत फर्काउने चुनौती हो । २०५६, २०७० र २०७४ को चुनाव जितेका राईले २०६४ र २०७९ को निर्वाचनमा भने हार व्यहोर्नुपरेको थियो । उनी हालै सम्पन्न एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् । २०७९ सालको निर्वाचनमा शेरधन राई तत्कालिन माओवादी केन्द्रका उम्मेद्वार सुदन किराँतीसँग पराजित बनेका थिए ।
माओवादी, नेकपा (एकीकृत समाजवादी)लगायत दर्जनौं घटक मिलेर बनेको नेकपामा भने सुदन किराँती गएनन् । जसको कारण उनको भूमिकाले पनि चुनावी नतिजामा तलमाथि पर्नसक्ने कतिपयको विश्लेषण छ । उता, २०७० सालको चुनावमा शेरधन राईसँग झण्डै साढे पाँच हजार मतले पराजित भएका काँग्रेसका थापा यसपटक जित निकाल्ने दाउमा छन् । २०१५ सालयता भोजपुरमा प्रतिनिधिसभाको चुनाव जित्न नसकेको कांग्रेसका लागि यो प्रतिष्ठाको लडाइँ पनि हो ।
२०७९ सालको निर्वाचनमा भोजपुरमा समानुपातिक तर्फ एमालेले २२ हजार ९४०, काँग्रेसले १४ हजार ७७६, तत्कालिन नेकपा (माओवादी केन्द्र)ले १२ हजार ७५०, तत्कालिन नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ६९३ र रास्वपाले १ हजार २१८ मत ल्याएको थियो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।