विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह झापा क्षेत्र नम्बर ५ मा दुई दिने घरदैलो र मतदाता भेटघाट सकेर मंगलबार अपराह्न काठमाडौँ फर्किएका छन् ।
विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने क्रममा बालेनले अपनाएको कार्यशैली र उनले प्रयोग गरेको सवारी साधनको नम्बरलाई अहिले राजनीतिक वृत्तमा रोचक ‘रणनीतिक कनेक्सन’ का रूपमा हेर्न थालिएको छ । बालेन मंगलबार बिहान १० बजेर ५६ मिनेटमा विराटनगरको एयरपोर्ट रोडस्थित ‘पर्पल हेज’ रेस्टुरेन्ट पुगेका थिए । बुद्ध एयरलाइन्सको १२ बजेको उडानबाट काठमाडौँ फर्किने उनको पूर्वतालिका भए पनि प्राविधिक कारणले विमान केही घण्टा ‘डिले’ भएपछि उनले करिब चार घण्टा सोही रेस्टुरेन्टमा बिताउनुपरेको थियो ।
उनी होटलबाट अपराह्न २ : ५३ बजे मात्र विमानस्थलतर्फ प्रस्थान गरेका थिए । अचम्मको कुरा त के छ भने, विराटनगरमा झण्डै चार घण्टा बस्दा पनि रास्वपा मोरङका कुनै पनि नेता तथा कार्यकर्ताहरूले यसको पत्तो समेत पाएनन् । सामान्यतया पार्टीका माथिल्लो तहका नेताहरू जिल्ला भ्रमणमा आउँदा स्वागत, खादा–माला र भेटघाटको ठूलो तामझाम हुने गरे पनि बालेनको यो बसाइ पूर्णतया गोप्य रह्यो । उनले होटलमा बस्दा आफ्ना निजी सहयोगीबाहेक कुनै पनि स्थानीय नेतालाई खबर गरेका थिएनन् । बालेन आउँदा समेत भिडभाड नहुँदा अचम्म लागेको उनको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले बताए । बालेनको यो ‘गुप्त’ हिँडाइको पछाडि एउटा विशेष उद्देश्य रहेको देखिन्छ । रास्वपाका कार्यकर्ताहरूलाई समेत थाहा नदिई हिँड्ने उनको शैलीबारे एक सहयोगी भन्छन्, ‘कार्यकर्तालाई खबर गरेर हिँड्दा उनीहरूले नै सेल्फी खिच्ने भनेर अल्मल्याउँछन्, जसले गर्दा मतदातासँगको संवाद ओझेलमा पर्छ । बरु सुटुक्क हिँड्दा अलमल हुँदैन र वास्तविक भोट बढ्छ भन्ने हाम्रो रणनीति हो ।’
बालेन पछिल्लो समय झापाको घरदैलोमा यसरी नै सुटुक्क निस्कन थालेका छन्, जसले विपक्षीहरूलाई समेत उनको चाल पाउन कठिन भएको छ । मंगलबार बिहान पनि विराटनगर आउनुअघि उनले झण्डै एक घण्टा दमकको चिया बगान क्षेत्रका सुकुम्बासी बस्तीमा पुगेर मतदाताहरूसँग भेटघाट गरेका थिए । बालेनले यसपटक प्रयोग गरेको सवारी साधनले पनि धेरैको ध्यान खिचेको छ । केही समयअघि उनी बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर चढेको विषयमा ठूलो विवाद आएको थियो । विलासी गाडीको आलोचना भएपछि उनले तत्काल गाडी परिवर्तन गरेर अहिले ‘बा २ झ ५०००’ नम्बरको गाडी प्रयोग गर्न थालेका छन् । सहयोगीका अनुसार झापा क्षेत्र नम्बर ५ सँग मेल खाने (५००० नम्बर) भएकाले र यसले चुनावी नतिजामा ठूलो मतान्तर देखाउने मनोवैज्ञानिक संकेत गर्ने हुनाले यो गाडी छानिएको हो ।
सुरक्षा स्रोतका अनुसार उनले हल्ला नहोस् र सुरक्षा चुनौती कम होस् भनेर पनि पटक–पटक गाडी परिवर्तन गर्ने गरेका छन् । विवादित गाडी पार्टीकै एक जना नेताले उपलब्ध गराएको स्रोतले बताए पनि अहिले प्रयोग गर्ने ५००० नम्बरको गाडी भने पार्टीले नै उपलब्ध गराएको हो । सोमबार दिनभर झापा ५ का विभिन्न स्थानमा पुग्दा बालेनले मतदाताहरूबाट निकै गम्भीर प्रश्नहरूको सामना गर्नुपरेको थियो । स्थानीयले भूमिहीन तथा सुकुम्बासी समस्या, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको अवस्थाबारे उनलाई जिज्ञासा राखेका थिए । यसअघि मौन रहेर केवल हात हल्लाउँदै हिँड्ने गरेका बालेनले यसपटक भने मतदातासँग संवाद सुरु गरेका छन् । यद्यपि, उनले अहिले नै ठूला भाषण वा आश्वासन दिनुको साटो आफ्नो ‘स्थानीय प्रतिबद्धता पत्र’ सार्वजनिक नभएसम्म ठोस कुरा नगर्ने उनका सहयोगीहरूलाई बताउँदै आएका छन् ।

बालेन भोलिदेखि सुरु हुने रास्वपाको देशव्यापी चुनावी सभाको तयारीका लागि काठमाडौँ फर्किएका हुन् । रास्वपाले भोलि सुदूरपश्चिमको धनगढीबाट आफ्नो चुनावी सभाको औपचारिक सुरुवात गर्दैछ । सोही सभालाई सम्बोधन गर्न र रणनीतिक तयारीलाई अन्तिम रूप दिन उनी दुई दिने झापा बसाइ छोट्याएर काठमाडौँ लागेका हुन् । एक हप्ता लामो मधेस र बागमती प्रदेशको भ्रमणपछि आइतबार मात्र झापा पुगेका उनी आगामी १२ गते कोशी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुनः आउनेछन् । त्यसपछि मात्र उनी पूर्ण रूपमा आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने तयारीमा छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।