विराटनगर । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार पनि घटेको नेप्सेले यस दिन पनि सोही गिरावटलाई निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक २०.७५ अंक घटेर २६४२.१५ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.९९ अंक, फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंक घटेको छ ।
नेप्से घटेपनि मंगलबार कारोबार रकम भने बढेको छ। सोमबार ७ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा मंगलबार ३५४ स्टकको ८३ हजार ७५ पटकको कारोबारमा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँबराबरको २ करोड ५ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर मूल्य ३३ रुपैयाँ बढेर ३६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य करिब साढे ८ प्रतिशतले बढेको छ। सुपर मादी हाइड्रोपावरको शेयर मूल्य भने सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको ४४ करोड रुपैयाँभन्दा बढी र ङादी ग्रुप पावरको कारोबार रकम ३१ करोड रुपैयाँ नाघेको छ।
बजारका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २।११ प्रतिशतले घटेको छ। विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।