विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
पार्टीको औपचारिक केन्द्रीय घोषणापत्र भने अहिलेसम्म सार्वजनिक नगरेका ओलीले निर्वाचन क्षेत्रको प्रतिबद्धता भने मंगलबार सार्वजनिक गरेका हुन् ।
‘सुखी नेपाली, समृद्ध नेपाल’लाई मूल मन्त्र बनाइएको प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । राजनीतिक अस्थिरताले मुलुकले क्षति बेहोरेको उल्लेख गर्दै एमालेले पछिल्लो समय बढेको ‘स्टन्टबाजी’ र ‘पपुलिस्ट’ प्रवृत्तिले जनतामा भ्रम सिर्जना गरेको दाबी गरेको छ । सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता प्रविधिको दुरुपयोगमार्फत फैलाइएका तथ्यहीन विषयलाई चिर्दै अधुरा विकास आयोजना पूरा गर्ने प्रतिबद्धता जनाइएको छ ।
ओलीले सुशासनलाई लोकतन्त्रको आधारस्तम्भ बताउँदै भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाइने उल्लेख गरेका छन् । नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट भू–जडित मुलुकका रूपमा स्थापित गर्न छिमेकी मुलुकसँग व्यापार तथा पारवहन सन्धि सुदृढ गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । दमक सभाहल सञ्चालन, आदिवासी सङ्ग्रहालय निर्माण र प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्याउने योजना झापा–५ का मुख्य एजेण्डाका रूपमा समावेश छन् ।
निर्वाचन आउन अब करिब १५ दिन मात्र बाँकी रहँदा धेरै दलहरूले अझै आफ्नो औपचारिक घोषणापत्र सार्वजनिक गरेका छैनन् । निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन दल तथा उम्मेदवारलाई निर्देशन दिएको थियो । तर, प्रमुख दलहरूमध्ये नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीलगायतका दलले भने आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले विस्तृत घोषणापत्रको सट्टा ‘बाचापत्र’ ल्याउने बताउँदै आएको छ भने संक्षिप्त करारपत्र सार्वजनिक गरिसकेको जनाएको छ ।
एमालेले केन्द्रीय घोषणापत्र नल्याए पनि अध्यक्ष ओलीमार्फत क्षेत्रगत प्रतिबद्धता सार्वजनिक गरेर चुनावी अभियानलाई अघि बढाएको देखिन्छ ।





























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।