धरान । पूर्व गोर्खा सैनिकहरूले सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा मनोज भट्टराईलाई समर्थन गर्ने बताएका छन् ।
सङ्गठन गोर्खा एक्स–सर्भिसमेन अर्गनाइजेशन (गेसो) का अध्यक्ष कृष्णकुमार राईले लाहुरे समुदायको समर्थन नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भट्टराईलाई रहने बताएका हुन् ।
अध्यक्ष राईले लाहुरे समुदायको समर्थन पूर्व नगर प्रमुख हर्क साम्पाङलाई रहेको भन्ने भ्रम मात्रै रहेको दाबी गरे । उनले विकास, स्थायित्व र दीर्घकालीन सोचलाई आधार मानेर मत दिने निर्णय गरिएको स्पष्ट पार्दै लाहुरे समुदाय नेकपाका उम्मेदवार भट्टराईको पक्षमा उभिने बताए ।
राईले लाहुरे समुदाय कुनै भावनात्मक नारामा नफस्ने उल्लेख गर्दै सामाजिक–आर्थिक विकास, सुशासन र स्थिर राजनीतिक नेतृत्वलाई प्राथमिकता दिने धारणा राखे । उनले ढुङ्गा बोकेर मात्र देश नबन्ने भन्दै नीति, दृष्टिकोण र जिम्मेवार नेतृत्व आवश्यक हुने बताए । प्रतीकात्मक गतिविधिभन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्यायमा केन्द्रित स्पष्ट कार्ययोजना अपरिहार्य हुने उनको भनाइ थियो ।
अध्यक्ष राईले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको अघिल्लो सरकारले सुशासन र सामाजिक न्यायको पक्षमा देखिनेगरि गरेको कामले आफूहरु प्रभावित भएको बताए । गोर्खाहरूका समस्याबारे भने अन्य दलभन्दा नेकपा स्पष्ट रहेको उनको दावी छ ।
भूतपूर्व ब्रिटिस गोर्खाहरूले २२ वर्ष सेवा पूरा गरेका बेलायती गोर्खालाई अन्य ब्रिटिस सिपाहीसरह पूर्ण निवृत्तिभरण, १६ वर्ष सेवा गरेका अधिकृतलाई समान दर्जाअनुसार पूर्ण पेन्सन र १५ वर्ष सेवा गरेका गोर्खालाई समानुपातिक निवृत्तिभरण दिनुपर्ने माग गरिरहेको राईले बताए
। युद्धमा मृत्यु, घाइते वा अशक्त भएका गोर्खालाई ब्रिटिस सरह अपाङ्ग, विधवा र आश्रित पेन्सन, सन् १९७५ अघि बर्खास्त गरिएकालाई क्षतिपूर्ति तथा त्यसपछि सेवा गरी पेन्सन नपाएकालाई सञ्चित पेन्सन उपलब्ध गराइनुपर्ने माग आफूहरुको रहेको उनको भनाइ छ ।
नेपालमै समान मेडिकल सुविधा, ३० वर्षमाथिका सन्तानलाई बेलायती आवासीय हैसियत, भूतपूर्व गोर्खा र परिवारलाई ९० दिन नेपाल बसोबास सुविधा तथा गोर्खा पेन्सन नेपाल राष्ट्र बैङ्कमार्फत भुक्तानी व्यवस्था गरिनुपर्ने विषय पनि उनले उठाएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।