लोड हुँदैछ...

मेनु

कन्काई पुलमा राखिएको शङ्कास्पद वस्तु परालको डल्लो, राजमार्ग सञ्चालनमा

कन्काई पुलमा राखिएको शङ्कास्पद वस्तु परालको डल्लो, राजमार्ग सञ्चालनमा

विर्तामोड । शिवसताक्षी नगरपालिका–१० माइधारस्थित कन्काई पुलमा आज बिहान फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने पुलको बीच भागमा “नेपाल बन्द होसियार” लेखिएको कागज राखी तारले बेरिएको वस्तु भेटिएपछि बिहानैदेखि उक्त क्षेत्रमा सवारी आवागमन रोकिएको थियो ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर जाँच तथा डिस्पोज गर्ने तयारीका क्रममा उक्त वस्तु विस्फोटक नभई परालको डल्लो रहेको पत्ता लगाएको हो ।

ढुङ्गाले थिचेर पुलको बीच भागमा राखिएको अवस्थामा भेटिएको बस्तु बम नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार सर्वसाधारणमा त्रास सिर्जना गर्ने उद्देश्यले कसैले यस्तो कार्य गरेको हुन सक्ने आशंका गरिएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान र खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

शङ्कास्पद वस्तु हटाइएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात सेवा सञ्चालनमा आएको छ । केही समय सवारीसाधन लामबद्ध भएपनि अवस्था सामान्य बनिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।