विर्तामोड । निर्वाचन नजिकिएको बेला मतदाताले कतै बाटो, पुल, अस्पताल र विद्यालयको माग गरिरहेका हुन्छन् । सचेत मतदाताले कानुन निर्माणबारेमा उम्मेदवारलाई प्रश्न गर्ने गरेका छन् ।
झापाको क्षेत्र नं. १ का मतदाताको आकांक्षा र प्रश्न भने फरक छ । उनीहरु विकास, कानुन निर्माण र देशको एजेण्डा भन्दा पृथक माग गरिरहेका छन् । वर्षौदेखि भोगिरहेको हात्तीको आतंक नियन्त्रण उनीहरुको मुख्य माग हो ।
मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरी भित्र्याउन व्यस्त छिन् । अन्य अन्नबाली जङ्गली हात्तीले सखाप पारिदिने भएपछि उनले विकल्पका रूपमा तोरीखेती रोजेकी हुन् । हात्तीले नखाने भएकाले अचेल गाउँका पाखोबारीमा अन्नभन्दा बढी तोरी झुल्न थालेको उनको भनाइ छ ।
भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगरमा पर्ने साविक बाहुनडाँगी गाविसअन्तर्गतका मेचीनगर–१, २, ३ र ४ का बासिन्दाको चार दशकदेखिको साझा प्रश्न एउटै छ—जङ्गली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने ? अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर हैरान स्थानीयका लागि तोरीखेती हात्तीबाट जोगिने वैकल्पिक कृषिकर्म बनेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा १ मा उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन् । तर, यहाँका मतदाताको प्राथमिकता विकासका सामान्य आश्वासनभन्दा पहिले हात्ती समस्या समाधानमा केन्द्रित देखिन्छ ।
साविक बाहुनडाँगी गाविसका रूपमा रहेको यो क्षेत्रमा २२ हजारभन्दा बढी मतदाता छन् । उनीहरुले हात्तीको त्रास अन्त्य गर्ने स्पष्ट योजना ल्याउनेलाई मत दिने साझा धारणा व्यक्त गरेका छन् ।
स्थानीय सविता पुरीका अनुसार हालसम्म नेकपाका उम्मेदवार अषेश घिमिरे मात्र गाउँ पुगेका छन् । घिमिरेसँग स्थानीयले हात्ती नियन्त्तणकै माग पेश गरेका थिए । हात्तीको त्रासबाट मुक्त गराउने विश्वसनीय योजना प्रस्तुत गर्ने उम्मेदवारलाई यसपटक मत दिने उनीहरूको अडान छ । पटकपटक सरकार फेरिए पनि बाहुनडाँगीको नियति नफेरिएको स्थानीयवासीको गुनासो छ ।
भारतबाट मेची नदी तरेर आउने हात्ती रोक्न विद्युतीय तारबार जडान गरिएको भएपनि स्थानीयका अनुसार ती संरचना प्रभावकारी बन्न सकेका छैनन् । हात्तीले तारबार भत्काउने र नाघेर गाउँ पस्ने क्रम जारी रहेको उनीहरूको भनाइ छ ।
घरदैलोमा आउने प्रत्येक उम्मेदवारसँग दीर्घकालीन र कार्यान्वयनयोग्य योजना माग्ने गरिएको स्थानीयले बताएका छन् । झापा–१ मा राजनीतिक दलका १३ र दुई स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् । कुल १ लाख ३१ हजार ६७ मतदाता रहेको यस क्षेत्रमा १० हजार ६९२ नयाँ मतदाता थपिएका छन् । मेचीनगरका १५, बुद्धशान्तिका ४ र भद्रपुरका २ वडा समेटिएको यस क्षेत्रमा ४३ मतदानस्थल र १४५ मतदान केन्द्र तोकिएका छन् ।
हात्तीको त्रास नभएको गाउँ, बाली नोक्सान नभएको वडा र आक्रमणबाट पीडित नभएको परिवार झापा–१ मा भेट्न मुस्किल रहेको स्थानीय बताउँछन् । निर्वाचन नजिकिँदै जाँदा आश्वासनभन्दा समाधानको प्रतिक्षामा यहाँका मतदाता देखिन्छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।