काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने प्रलोभन देखाई ६५ लाख ३३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना झापाली सहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा अर्जुनधारा नगरपालिका–६ का ५१ वर्षीय धर्मप्रसाद राई र अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला रहेका छन्।
त्यस्तै, ठगी कार्यमा संलग्न काठमाडौँ तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये निमा डोल्मा लामाले बेलायत पठाउने भन्दै सबैभन्दा धेरै ५० लाख रुपैयाँ ठगी गरेकी थिइन्।
त्यसैगरी, सुरजबहादुर श्रेष्ठले रोमानिया पठाउने भन्दै ७ लाख ५० हजार, धर्मप्रसाद राईले अष्ट्रिया पठाउने भन्दै ५ लाख ८५ हजार र गोविन्दप्रसाद निरौलाले टर्की पठाउने भन्दै २ लाख ३ हजार रुपैयाँ लिएर पीडितहरूलाई अलपत्र पारी सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।