विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर झापाको दमकमा व्यस्त रहने भएका छन्। आगामी निर्वाचनलाई लक्षित गरी आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन उनी आज दमकका विभिन्न वडामा पुग्न लागेका हुन्।
निर्वाचन परिचालन समिति अन्तर्गतको मिडिया परिचालन उपसमिति संयोजक इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले आज दिनभर दमकका विभिन्न टोल र चोकमा स्थानीय नागरिकसँग भेटघाट र प्रत्यक्ष संवाद गर्नेछन्।
निर्धारित कार्यक्रम अनुसार अध्यक्ष ओली बिहान ११ : ३० देखि १२ बजेसम्म दमक नगरपालिका वडा नम्बर ३ को दुम्से चोक र टुकुरे क्षेत्रमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। त्यसलगत्तै १२ः२० देखि १ बजेसम्म वडा नम्बर ८ को संगम चोकस्थित धनपति मैनालीको घर नजिकै आयोजना हुने कार्यक्रममा उनी पुग्नेछन्।
त्यसैगरी, दिउँसो १ः२० देखि २ बजेसम्म वडा नम्बर १० को सूर्य चोकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम छ। दिउँसो २ :२० देखि ३ बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा तथा अपरान्ह ३ः२० देखि ४ बजेसम्म किराँत चोकमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन र संवाद गर्नेछन्।
ओलीका निर्वाचन कमान्डर देवेन्द्र दाहालले यस भ्रमणका क्रममा अध्यक्ष ओलीले स्थानीय कार्यकर्ताको मनोबल बढाउनुका साथै सर्वसाधारणका गुनासो र सुझावहरू प्रत्यक्ष रूपमा सुन्ने जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।