विराटनगर । विराटनगरमा आगामी नयाँ शैक्षिक सत्रदेखि सञ्चालनमा आउन लागेको ‘मार्टर्स मेमोरियल प्लस टु’ ले आफ्नो नेतृत्वदायी टोली विस्तार गरेको छ । कलेजले थप तीन जना अनुभवी शिक्षाकर्मीलाई लगानीकर्ताका रूपमा भित्र्याएको हो ।
नयाँ लगानीकर्ताका रूपमा रोशन ठाकुर, अमरेश यादव र नागेन्द्र सिंह कलेजमा आबद्ध भएका हुन् ।
योसँगै कलेज सञ्चालकहरूको संख्या ३१ पुगेको प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । नयाँ थपिएका सदस्यहरूलाई विषयगत जिम्मेवारी समेत तोकिएको छ । जसअनुसार ठाकुरलाई गणित, यादवलाई अंग्रेजी र सिंहलाई कम्प्युटर विषयको नेतृत्वदायी जिम्मेवारी दिइने कलेजले जनाएको छ ।
प्रिन्सिपल श्रेष्ठले ३१ जनाको दक्ष टोली निर्माण हुनुले शैक्षिक क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले शैक्षिक क्षेत्रमा फरक पहिचान र गुणस्तर दिने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि प्लस टु सञ्चालनको तयारी गरेका हौं । अनुभवी टिमको उपस्थितिले हामीलाई थप ऊर्जा मिलेको छ ।’
विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने संकल्पका साथ करिब ७ करोड रुपैयाँको लगानीमा यो परियोजना अघि बढाइएको हो । शनिबार एक समारोहका बीच विराटनगर–१०, निलसदन दक्षिणस्थित साढे ५ कट्ठा जग्गामा कलेजको चारतले अत्याधुनिक शैक्षिक भवनको शिलान्यास समेत गरिएको छ । आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त भवन पूर्ण रूपमा वातानुकूलित एसी, स्मार्ट कक्षाकोठा र आधुनिक प्रयोगशालासहितको हुनेछ ।
प्रिन्सिपल श्रेष्ठका अनुसार विराटनगरको गर्मीलाई मध्यनजर गर्दै विद्यार्थीको सहजताका लागि सबै कक्षाकोठामा ‘फुल एसी’ जडान गरिनेछ । ‘सुविधासम्पन्न भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षण पद्धतिबाट हामी उत्कृष्ट नतिजा दिने तयारीमा छौं,’ उनले थपे ।
आगामी शैक्षिक सत्रदेखि विज्ञान, कम्प्युटर साइन्स, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा पठनपाठन सुरु गर्ने योजना रहेको यस संस्थाले पहिलो वर्षमै १ हजारदेखि १ हजार २ सय विद्यार्थी अटाउने क्षमताको पूर्वाधार निर्माण गरिरहेको छ । दीर्घकालीन रूपमा स्नातक तथा स्नातकोत्तर तहसमेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
यस प्लस टु सञ्चालनमा विराटनगरका १० भन्दा बढी प्रतिष्ठित संस्थागत विद्यालयका प्रिन्सिपलसहित २९ जना शिक्षाकर्मीको सामूहिक लगानी रहेको छ, जसमा अहिले ३ जना नयाँ सदस्य थपिएका हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।