दमक । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनावी प्रचार–प्रसारमा तीव्र रूपमा सक्रिय भएका छन् । निर्वाचन आयोगले आगामी १७ गतेसम्म आचारसंहिता पालना गर्दै प्रचार गर्न समयसीमा तोकेको छ । तर झापा क्षेत्र नम्बर ५ मा भने चुनावी आचारसंहिता उल्लंघन भएको भन्दै विवाद चर्किएको छ ।
नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहानदेखि झापा क्षेत्र नम्बर ५ मा मतदाता भेटघाटमा सक्रिय थिए । सोही क्रममा उनी दलबलसहित दमक अस्पताल पुगेपछि अस्पतालको सेवा प्रभावित भएको गुनासो सेवाग्राहीहरूले गरेका छन् ।
सोमबार बिहानदेखि नै दमक अस्पताल बिरामीले खचाखच थियो । लगातार दुई दिन सार्वजनिक बिदा परेका कारण सोमबार बिरामीको चाप अत्यधिक रहेको अस्पताल स्रोतले जनाएको छ । बिहान ११ बजेदेखि एमाले निकट युवा संघका कार्यकर्ताहरू अस्पताल गेटमा झण्डा–ब्यानरसहित ‘केपी बा हाई हाई’ जस्ता नाराबाजी गर्दै उभिएका थिए ।
करिब १ बजेर ५० मिनेटमा ओली कार्यकर्तासहित अस्पताल परिसरमा प्रवेश गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार उनी प्रवेश गरेलगत्तै ‘माथिको निर्देशन’भन्दै काउन्टर, वार्ड र इमरजेन्सी सेवा समेत केही समयका लागि बन्द गरिएको थियो । औषधि लिन घण्टौँदेखि लाइनमा बसेका सेवाग्राहीहरू फार्मेसी सेवा बन्द हुँदा झनै मारमा परेका थिए । दमक अस्पतालमा दैनिक एक हजार दुई सय भन्दा बढी बिरामीले सेवा लिने गर्दछन् ।
एक सेवाग्राहीले गुनासो गर्दै भने, ‘हामी बिहानैदेखि लाइनमा बसेका थियौं। अचानक सेवा बन्द भयो। बिरामी लिएर आएका छौं, तर कसैले सुनुवाइ गरेन। चुनाव प्रचारका लागि अस्पताल जस्तो ठाउँ किन प्रयोग गर्ने ?’
ओली करिब २ बजेर ३० मिनेटसम्म अस्पताल परिसरमा रहेका थिए । त्यस अवधिमा अस्पतालका अधिकांश सेवा प्रभावित बनेको सेवाग्राहीहरूको दाबी छ । निर्वाचन आचारसंहिताअनुसार कुनै पनि राजनीतिक दल वा उम्मेदवारले सरकारी, सार्वजनिक तथा संवेदनशील स्थलहरू, विशेष गरी अस्पताल, विद्यालय, स्वास्थ्य चौकी जस्ता स्थानमा प्रचार–प्रसार, सभा वा भीडभाड गर्न पाइँदैन । सार्वजनिक सेवा प्रवाहमा अवरोध पु¥याउने कार्य स्पष्ट रूपमा निषेध गरिएको छ ।
निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत तुलसी नेपालले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भेला भई प्रचार गर्न नपाइने स्पष्ट पारे । उनले भने, ‘अस्पताल, विद्यालय जस्ता संवेदनशील स्थानमा प्रचार–प्रसार गर्न पाइँदैन । यदि सेवा प्रभावित भएको पाइएमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइन्छ ।’
यता दमक अस्पताल प्रशासनले भने सेवा ठप्प भएको आरोपलाई अस्वीकार गरेको छ । अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार कार्यक्रम अस्पताल बाहिर भएको र खासै ठूलो प्रभाव नपरेको दाबी गरे । ‘हामीलाई करिब एक घण्टा अघि जानकारी भएको थियो । कार्यक्रम अस्पताल बाहिर भएको हो। वार्ड र उपचार कक्षमा उहाँ (ओली) पुग्नुभएको छैन । त्यसैले ठूलो प्रभाव परेको छैन । सेवा अवरुद्ध भएको कुरा पनि सही होइन ।’
चिकित्सक तथा नर्स सेवा बन्द गरेर स्वागतमा पुगेको विषयमा उनले ‘रेस्ट टाइम’ रहेको बताए । ‘रेस्ट टाइममा आउने कुरा थियो । करिब २ बजेमात्रै आउनुभयो, त्यसले गर्दा अलिकती असर चाहिँ परेको हो,’ उनले भने । अस्पताल प्रशासनले सेवा प्रभावित नभएको दाबी गरे पनि सेवाग्राहीहरूले भने घण्टौँ सेवा अवरुद्ध भएको गुनासो गरेका छन् । एक महिलाले रोईकराई गरिरहेको अवस्थामा प्रहरीले सम्झाईरहेको थियो ।
नेकपा एमाले झापा क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समिति संयोजक देबेन्द्र दाहालले भने ओली चुनाव प्रचारका लागि नभई अस्पताल निरीक्षणका क्रममा पुगेको बताए । ‘अध्यक्ष कमरेडले नै बजेट छुट्याएर अस्पतालको भवन निर्माण भएको हो । उक्त भवन निरीक्षणका लागि त्यहाँ जानु भएको हो । सेवा प्रभावित भएको वा कुनै नारा जुलुस भएको कुरा सत्य होइन ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।