लोड हुँदैछ...

मेनु

विराटनगरमा एमालेका दुई वडा कार्यालयमा तोडफोड, दोषीलाई कारबाही गर्न माग

विराटनगरमा एमालेका दुई वडा कार्यालयमा तोडफोड, दोषीलाई कारबाही गर्न माग

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आफ्ना चुनावी कार्यालयहरूमा भएको तोडफोडको घटनाप्रति कडा आपत्ति जनाएको छ। एमालेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरका दुई फरक वडामा रहेका निर्वाचन परिचालन कमिटीका कार्यालयमा भएका तोडफोडका घटनाको घोर भर्त्सना गरेको हो।

एमालेका अनुसार गएको शनिबार राति विराटनगर वडा नं. १७ र आइतबार राति वडा नं. १५ मा रहेका निर्वाचन परिचालन कमिटीका कार्यालयहरूमा तोडफोड भएको छ। निर्वाचनको माहोल बिथोल्ने उद्देश्यले यस्ता अराजक गतिविधि गरिएको एमालेको ठहर छ।

महानगर कमिटीका अध्यक्ष बलराम गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको माहोल बिथोल्ने गरी भएको यस्तो अराजक गतिविधिमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाउन प्रहरी प्रशासनसँग जोडदार माग गर्दछौं।’

एमालेले निर्वाचन आचारसंहिता विपरीतका यस्ता घटनामा विशेष निगरानी र अनुगमन गर्न निर्वाचन आयोगसँग समेत आग्रह गरेको छ। यस्ता घटनाबाट विचलित नहुन र कडा रूपमा निगरानी गर्न एमालेले आफ्ना कार्यकर्ता तथा शुभचिन्तकहरूलाई आह्वान गरेको छ।

‘हतोत्साही मानसिकताबाट ग्रसित भएकाहरूको यस्तो घटनाबाट विचलित नहुन र कडा रूपमा निगरानी गर्नका लागि कार्यकर्ता तथा शुभचिन्तकहरूलाई आग्रह गर्दछौं। निर्वाचन निष्पक्ष तथा भयरहित हुने सुनिश्चित गर्न प्रशासनसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।