लोड हुँदैछ...

मेनु

दमक टावर आईटी हबका लागि बनाएको ओलीको दावी

दमक टावर आईटी हबका लागि बनाएको ओलीको दावी

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा निर्माण गरिएको टावरलाई नबुझी विरोध गरिएको बताएका छन् ।

झापा–५ मा चुनावी घरदैलोका क्रममा बोल्दै उनले उक्त संरचना भ्यू टावर नभई व्यवसायिक कम्प्लेक्स भएको बताए ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओलीले सो कम्प्लेक्सलाई नयाँ खालको सूचना प्रविधि हबका रूपमा विकास गर्ने सोचका साथ अगाडि बढाइएको बताए । केहीले यसको आवश्यकता नबुझी विरोध गरेको उल्लेख गर्दै उनले यो व्यक्तिगत प्रयोजनका लागि नभई क्षेत्रीय विकास र पहिचानका लागि निर्माण गरिएको दाबी गरे ।

भविष्यमा दमक चिनिनुको आधार यही संरचना बन्ने र यसले विकासको झन्डाका रूपमा काम गर्ने उनको भनाइ थियो । उनले भने, ‘भ्यूटावर भन्छन् । यो वास्तवमा भ्यूटावर नै होइन । यो एउटा बिजनेस कम्प्लेक्स हो । नयाँ खालको आईटी हबको रूपमा यसलाई विकास गर्ने सोचअनुसार अगाडि बढाएका हौं । त्यो कुरा चाहिँ नबुझ्ने मान्छेहरूले किन चाहियो भन्छन् । यो एकजना परिवार वा म गएर बसोबास गर्न बनाएको त होइन नि । यो ठाउँको विकास गर्नलाई बनाएको हो ।’

अर्को प्रसंगमा ओलीले एक कार्यकाल पूरा गर्न आफू चार पल्ट प्रधानमन्त्री बन्नुपरेको भन्दै आफूले विकासका धेरै काम गरेको दावी गरे । ‘ठ्याक्कै उभिएर विकास हुँदैन । पहिला भएको ठाउँभन्दा अलिकति अगाडि पाइला सार्नु पर्छ, अनि मात्रै यात्रा हुन्छ’ उनले भने, ‘यात्रा हुनलाई पाइला अगाडि सार्नु पर्छ । अगाडि पाइला सार्दा नयाँ ठाउँमा टेक्नुपर्छ । त्यो सबैले बुझ्दैन ।’

आफू राम्रो काम गर्न खोज्दा पनि त्यसो हुन नदिएको ओलीको भनाइ थियो । ‘देशभक्तिको काम गर्नै नहुने । यहाँ औद्योगिक क्षेत्र बनाउन नदिने भनेर देशभित्र देश बाहिरका अनेक शक्ति लागेका छन् । अरू कामहरूमा पनि त्यस्तै । कुनै पनि कामलाई मजाक उडाउने । गम्भीर कुराहरू गर्दा उखान टुक्का भन्यो भन्ने । गम्भीर कुरा भन्या हुन्छ, उखान टुका भन्छ,’ उनले भने, ‘मैले विभिन्न शास्त्रका इतिहासका कुरा गरेको हुन्छ । उनीहरूले उखान टुका भन्छ । त्यो दुई दिन जागरण गएको हो कि बंगाएका हुन् त्यो उनीहरू जानुन् ।’

संसारभरिका सबै शहरमा सभागृह, सामुदायिक भवन, रंगशालाहरू हुने भन्दै उनले आफूले रंगशाला बनाउन खोज्दा पनि विरोध भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।