विराटनगर । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार सामान्य अंकले उकालो लागेको बजार यस दिन भने ओरालो लागेको हो ।
सोमबार नेप्से परिसूचक ८ दशमलव १६ अंकले घटेर २६६२ दशमलव ९१ विन्दुमा झरेको छ । यसदिन सेन्सेटिभ इण्डेक्स १ दशमलव ०६ अंक, फ्लोट इण्डेक्स ० दशमलव ५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ४१ अंकले घटेको छ ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ । बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर किनबेच भएको छ ।
यसदिन बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंक बिहीबार नेप्सेमा सूचीकृत भई सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आएका हुन् । अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढ्दा खानी खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर अग्रस्थानमा रहँदै ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । आँखु खोला जलविद्युत कम्पनीको करिब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ ।
बजारका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढ्दा १० उपसमूहको परिसूचक घटेको छ । वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूह सामान्य उकालो लागेका छन् भने जलविद्युत उपसमूह सर्वाधिक १ दशमलव ०२ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।