लोड हुँदैछ...

मेनु

धेरै सुकुम्बासीहरू वास्तविक होइनन्, राजनीतिक दलद्वारा परिचालित हुन् : बालेन्द्र शाह

धेरै सुकुम्बासीहरू वास्तविक होइनन्, राजनीतिक दलद्वारा परिचालित हुन् : बालेन्द्र शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह ( बालेन ) ले काठमाडौँको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्या समाधानमा ठूलो अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन् ।

सोमबार बिहान झापा क्षेत्र नम्बर ५ का मतदाताहरूसँगको संवादका क्रममा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर समेत रहेका बालेनले महानगरको राजनीतिमा बाह्य शक्तिहरूको अदृश्य दबाब रहने गरेको बताए ।

‘‘काठमाडौँ महानगरमा कुन हदसम्मको अन्तर्राष्ट्रिय चलखेल थियो भनेर तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न,’ मतदाताहरूसँग बालेनले भने, ‘महानगरको नेतृत्व गर्नु र देशको प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन रहेछ ।’

सुकुम्बासी व्यवस्थापनका क्रममा आफूले निकै ठूलो दबाब र अवरोध झेल्नुपरेको उल्लेख गर्दै बालेनले काठमाडौँका सुकुम्बासी बस्तीमा बस्ने धेरैजसो मानिसहरू वास्तविक सुकुम्बासी नभएको जिकिर गरे । उनले भने, ‘त्यहाँ बस्ने धेरै त वास्तविक सुकुम्बासी नै होइनन्, उनीहरू राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित मान्छे हुन् ।’
बालेनले सुकुम्बासीलाई लालपुर्जा दिलाउन र व्यवस्थित गर्न महानगरले भूमि आयोगसँग तीन महिनाअघि नै सम्झौता गरिसकेको भए पनि देशको राजनीतिक अस्थिरता र छिटोछिटो फेरिने सरकारका कारण ती कामहरू कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

खोला किनारमा बस्नु जोखिमपूर्ण हुने भएकाले सुकुम्बासीहरूलाई सुरक्षित स्थानमा सारेर उचित आवास र खानपानको व्यवस्था गर्ने योजना आफूसँग रहेको उनले दाबी गरे । आफूले सुरु गरेका सुधारका कार्यहरूलाई राष्ट्रिय स्तरमै लैजान आफू यसपटक प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएको उनले स्पष्ट पारे ।

मधेस र बागमती प्रदेशको एक हप्ता लामो भ्रमण सकेर सोमबार मात्रै आफ्नो निर्वाचन क्षेत्र झापा ५ फर्किएका बालेनले आजैदेखि घरदैलो अभियानलाई तीव्र बनाएका छन् । उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डाहरू सुनाउन थालेपछि झापा ५ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।