विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर १ को चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
सो क्षेत्रमा नेकपाले प्रत्यक्षतर्फ कुल प्रसाद लिम्बु (कुशल) र समानुपातिकतर्फ आदिवासी सीमान्तकृत समुदायबाट ममता राजवंशीलाई उम्मेदवार बनाएको छ ।
पार्टीले वर्तमान राजनीतिक अवस्थालाई संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएको र सन्तुलन गुमेको टिप्पणी गर्दै यसलाई सही मार्गमा ल्याउन आफ्नो जित आवश्यक रहेको दाबी गरेको छ । यो निर्वाचनलाई व्यवस्था पक्षधर र विरोधी शक्तिहरू बीचको प्रतिस्पर्धाको रूपमा चित्रण गरिएको छ । लोकतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व र धर्म निरपेक्षता जस्ता उपलब्धिलाई संरक्षण गर्दै थप मजबुत बनाउन आफूहरूले संघर्ष गरिरहेको बताउँदै पार्टीले ‘तारा’ चिन्हमा मतदान गर्न मतदातालाई अपिल गरेको छ ।
उम्मेदवार कुशल लिम्बुसहितको टोलीले मोरङ क्षेत्र नं. १ को समग्र विकासका लागि विभिन्न महत्वकांक्षी योजनाहरू समेटिएको प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ । जसमा मोरङ क्षेत्र नं. १ लाई पर्यटन केन्द्रको रूपमा विकास गर्ने र ५० लाख मानिसलाई बसोबास गर्न सहज हुने गरी आधुनिक सहर निर्माण गर्ने योजना अघि सारिएको छ । त्यस्तै, सुपारी खेती लगायत अन्य नगदेबालीलाई ‘राष्ट्रबाली’ का रूपमा सूचीकृत गराउने, उर्लाबारीलाई आर्थिक र प्रशासनिक केन्द्रको रूपमा विकास गर्ने तथा शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
शासन व्यवस्थामा सुधारको माग गर्दै पार्टीले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित शासकीय स्वरूप परिवर्तन गर्न आवाज बुलन्द गर्ने र भ्रष्टाचार निर्मूल गरी सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसका साथै ‘हाम्रो लगानी हाम्रो आम्दानी’ भन्ने नाराका साथ व्यावसायिक कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरमै व्यापक रोजगारी सिर्जना गर्ने, विपत व्यवस्थापनका लागि प्रत्येक पालिकामा ‘सेफ हाउस’ स्थापना गर्ने र सिंहदरबारको अधिकार गाउँमा पुर्याउने लगायतका एजेण्डाहरू समेटिएका छन् ।
पार्टीले आफ्ना उम्मेदवारलाई जनताको घरदैलोमा समस्या सुन्ने र विकासको स्पष्ट आवाज उठाउने नेतृत्वको रूपमा चिनाउँदै सञ्चारकर्मीहरूलाई स्वच्छ र सन्तुलित प्रचारप्रसारका लागि अनुरोध समेत गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।