लोड हुँदैछ...

मेनु

आचारसंहिता उल्लंघन गर्दै ओलीको चुनाबी अभियानमा शिक्षकहरु, विद्यालयमै कार्यक्रम

आचारसंहिता उल्लंघन गर्दै ओलीको चुनाबी अभियानमा शिक्षकहरु, विद्यालयमै कार्यक्रम

दमक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ५ मा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको पाइएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीको उपस्थितिमा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन झापाले आयोजना गरेको कार्यक्रमले निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएको छ ।

निर्वाचन आचारसंहिता अनुसार सरकारी सेवामा रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरू कुनै पनि राजनीतिक दलको प्रचारप्रसारमा सहभागी हुन, दलको सदस्यता लिन वा उम्मेदवारलाई राखेर राजनीतिक उद्देश्यका कार्यक्रम गर्न पूर्णतः बन्देज छ। तर, यी कानुनी प्रावधानहरूलाई चुनौती दिँदै झापा ५ मा एमालेनिकट शिक्षकहरूले खुलेआम राजनीतिक भेला गरी आफ्ना उम्मेदवार ओलीको पक्षमा माहोल बनाउने प्रयास गरेका छन्।

आइतबार झापा आइपुगेका ओली दमकमा शिक्षक संगठनले हिमालय माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दोर्ण श्रेष्ठले ओलीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको अध्यक्षता शिक्षक संगठनका जिल्ला अध्यक्ष लम्बोदर पौडेलले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको स्थिरता र विधिको शासनको कुरा गरे । जनअसन्तोषको नाममा हुने गतिविधिलाई ‘अपराधिक’ संज्ञा दिँदै उनले त्यसले देश अप्ठ्यारो परिस्थितिमा पुगेको बताए । बङ्गलादेशपछि नेपालमा पनि उस्तै प्रकारको आन्दोलन सुरु गरिएको भन्दै उनले अस्थिरता फैल्याउन खोजिएको टिप्पणी गरे ।

सम्बोधनका क्रममा ओलीले अघिल्लो शिक्षक आन्दोलनमा यसअघि शिक्षकहरुले चलाएको आन्दोलनमा घुसपैठ हुनसक्ने आशंकाका कारण समयमै सचेत भएर आन्दोलन स्थगन गरिएको बताएका थिए । ‘शिक्षक आन्दोलनमा पनि घुसपैठ हुन सक्ने आशङ्का थियो, समयमै सचेत भएर आन्दोलन स्थगन गरिएकाले सम्भावित अप्रिय घटना टरेको हो’ उनले भने ।

राज्यको ढुकुटीबाट तलब खाने शिक्षकहरूले आफ्नो पेसागत मर्यादा भुलेर उम्मेदवारको गुणगान गाउनु र उम्मेदवारले पनि शिक्षकहरूलाई चुनावी हतियार बनाएको भन्दै त्यसको विरोध हुन थालेको छ । आचारसंहिता पालना गराउनुपर्ने शिक्षकहरू आफैँ उल्लंघनकर्ता बनेको भन्दै त्यसबारे निर्वाचन
अधिकृतको कार्यालयमा पनि गुनासो दर्ता गरिएको छ ।

कार्यक्रममा एमाले नेता देबेन्द्र दाहाल, तुलसी कार्की लागयतको सहभागिता थियो । कार्यक्रममा शिक्षक संगठनका अध्यक्ष पौडेलले एमालेको सरकार हेर्न झापाली शिक्षक आतुर रहेको भन्दै सबै शिक्षकहरु अभियानमा लाग्ने घोषणा गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष अध्यक्ष हंशबहादुर शाही, महासचिव प्रकाश खनालसमेतको सहभागिता थियो ।

ओली केही दिन झापाका विभिन्न स्थानमा मतदातासँग घरदैलो कार्यक्रममा व्यस्त रहने उहाँको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।