लोड हुँदैछ...

मेनु

इरन राईको चुनावी एजेन्डा : चिसाङ डाइभर्सनदेखि युवालाई अर्धसैनिक तालिमसम्म

इरन राईको चुनावी एजेन्डा : चिसाङ डाइभर्सनदेखि युवालाई अर्धसैनिक तालिमसम्म

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार इरनकुमार राईले विकास र अनुशासनलाई जोड्ने भविष्यमुखी योजना अघि सारेका छन्। परम्परागत विकासका बाचाभन्दा माथि उठेर राईले यसपटक ठूला रूपान्तरणकारी आयोजना र युवा सशक्तीकरणलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेका छन्।

राईको प्रतिबद्धता पत्रमा सबैभन्दा बढी चर्चा बहुउद्देश्यीय चिसाङ नदी डाइभर्सन परियोजनाले पाएको छ। यसलाई उनले मोरङ ३ को समृद्धिको मेरुदण्डका रूपमा प्रस्तुत गरेका छन्। यो परियोजना केवल सिँचाइमा मात्र सीमित नभई खानेपानी आपूर्ति, पर्यटन प्रवर्द्धन र विद्युत उत्पादनसम्म जोड्ने राईको दाबी छ। यसले क्षेत्रको कृषि क्षेत्रमा क्रान्ति ल्याउने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास उनले दिलाएका छन्।

युवाहरूको क्षेत्रमा राईले निकै फरक र रोचक एजेन्डा अघि सारेका छन्। युवा पुस्तालाई अनुशासित, राष्ट्रप्रेमी र शारीरिक रूपमा सक्षम बनाउन विद्यालयस्तरमै स्काउट र एनसीसीसँगै अर्धसैनिक तालिम दिने प्रस्ताव उनले गरेका छन्। यसका साथै, अध्ययनलाई सिधै रोजगारीसँग जोड्न प्राविधिक शिक्षाको विस्तार र नयाँ उद्यमीहरूका लागि ुस्टार्टअप पूँजीु तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने बाचा उनले गरेका छन्।

भूमिहीन र सुकुम्बासी समस्याको सन्दर्भमा राईले यसपटक जग्गाको दोहोरो स्वामित्व अन्त्य गर्ने र दशकौँदेखि थाती रहेको अव्यवस्थित बसोबासीको समस्यालाई कानुनी रूपमै किनारा लगाउने ठोस सङ्कल्प गरेका छन्। कृषि आधुनिकीकरणका लागि विशेष ुकृषि पकेट क्षेत्रु घोषणा गरी उत्पादनलाई बजारसँग जोड्ने र पूर्व–पश्चिम लोकमार्ग आसपासका सहायक सडकहरूलाई उच्चस्तरको कालोपत्रेमा स्तरोन्नति गर्ने योजना पनि उनको प्राथमिकतामा छ।

निर्वाचन परिचालन समितिका संयोजक युवराज बस्कोटाका अनुसार यो प्रतिबद्धता पत्र केवल चुनावी नारा मात्र नभई विभिन्न तहका नेता, कार्यकर्ता र विज्ञहरूको सुझावका आधारमा तयार पारिएको विकासको दस्तावेज हो। एमालेले यसपटक मोरङ ३ मा राजनीतिक स्थायित्व र समृद्धिको एजेन्डा लिएर घरदैलो अभियानलाई तीव्र पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।