विराटनगर । विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहान करिब १ बजे दुर्घटनामा परेको स्कारपियो गाडीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
दुर्घटना भएको बा ८ च ६५०८ नम्बरको स्कारपियोबाट ४२० किलो गाँजा फेला परेको हो।
प्रहरीका अनुसार भित्री सडक हुँदै तीव्र गतिमा गुडिरहेको गाडी अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो। दुर्घटनाको सूचना पाएलगत्तै सीआरभी बरगाछी र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा गाडी खाल्डोमा अड्किएको अवस्थामा भेटिए पनि चालक फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटवालका अनुसार गाडी नियन्त्रणमा लिएर जाँच गर्दा सिट तथा डिक्कीमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा भेटिएको हो। बरामद गाँजा मुचुल्का तयार गरी सुरक्षित राखिएको छ भने नमुना परीक्षण प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गाडी सडकबाट बाहिर निकाल्न डीएसपी हरिनन्दन चौधरी नेतृत्वको टोली परिचालन गरिएको थियो। क्रेनको सहयोगमा गाडी बाहिर निकालेर प्रहरी कार्यालयमा लगिएको छ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार सुरक्षाकर्मीलाई छल्न हतार र तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको हुन सक्छ। उक्त गाँजा भारततर्फ लैजान खोजिएको आशंका गरिएको छ। यद्यपि, गाँजा कहाँबाट ल्याइएको र अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको एसपी कटवालले बताए।
निर्वाचन नजिकिँदै जाँदा सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएको उनले जानकारी दिए। चेकजाँच कडाइसँगै अवैध ओसारपसारमा संलग्न समूहले भित्री सडक प्रयोग गर्ने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ।
गाडीको दर्ता विवरणका आधारमा स्वामित्व पहिचान गर्ने प्रक्रिया सुरु गरिएको छ भने फरार चालकको खोजी तीव्र पारिएको छ। ठूलो परिमाणमा गाँजा बरामद हुनुलाई प्रहरीले महत्वपूर्ण सफलता मानेको छ र संगठित गिरोहमाथि अनुसन्धान केन्द्रित गरिएको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।