लोड हुँदैछ...

मेनु

मोरङ–२ मा त्रिपक्षीय भिडन्तको संकेतः

आलोपालो जित्दै आएका कांग्रेस एमालेलाई टाउको दुखाइ बन्दै रास्वपा

आलोपालो जित्दै आएका कांग्रेस एमालेलाई टाउको दुखाइ बन्दै रास्वपा

विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेको परम्परागत विरासत रहेको मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक चुनावी दृश्य बदलिएको छ । विगतमा यी दुई ठूला दलबीच मात्रै प्रतिस्पर्धा हुने गरेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले चुनावी गतिविधिले यस पटक त्रीपक्षीय प्रतिस्पर्धाको सम्भावना बढाइदिएको छ ।

नेपाली कांग्रेसबाट बौद्धिक नेता डा.मिनेन्द्र रिजाल र नेकपा एमालेबाट पूर्वमेयर दिलिपकुमार बगडिया (अग्रवाल) चुनावी मैदानमा उत्रिएका छन् । यी दुई खेलाडीलाई रास्वपाका उम्मेदवार कृष्णकुमार कार्कीले कडा चुनौती दिइरहेका छन् । विशेषगरी क्षेत्रको दक्षिणी भेग, जो कांग्रेसको ‘गढ’ मानिन्थ्यो, त्यहाँ कार्कीको बढ्दो प्रभावले कांग्रेस र एमाले दुवैलाई सशंकित बनाएको छ ।
उक्त निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीको पनि प्रभाव छ । विगतमा नेपाली कांग्रेस र एमालेसँग अलि पछाडि रहेर प्रतिस्पर्धा गर्दै आएको नेकपाले यस पटक जनजाती समुदायबाट उम्मेदवारी दिएको छ । पाका उमेरका चन्द्रबीर राई पनि प्रतिस्पर्धामा छन् । नयाँ राजनीतिक दलले कांग्रेस र एमाले दुवैको मत काट्ने र आफ्नो पार्टीको भोट सुरक्षित गर्दै आदिवासी जनजाति समुदायको मत आफूतिर आकर्षित गरी जित निकाल्ने रणनीतिमा उनी छन् । त्यसले पनि उक्त निर्वाचन क्षेत्रकोको चुनावलाई थप रोचक बनाइरहेको छ ।

कांग्रेसले आक्रामक तयारी बढाउँदै

निर्वाचनको तयारीका सम्बन्धमा नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले अहिले पार्टीले आन्तरिक भेटघाट ‘घरदैलो’ र ‘कोणसभा’ लाई तीव्रता दिएको बताएका छन् । घिमिरेका अनुसार अहिले टोल–टोलमा पुगेर जनताका गुनासा सुन्ने र पार्टीको आगामी योजना सुनाउने काम भइरहेको छ ।

“हामी अहिले इन्डोर र आउटडोर दुवै कार्यक्रममा व्यस्त छौँ,” घिमिरेले भने, “जनताले विगतका कमजोरीबारे प्रश्न गरिरहेका छन्, विशेषगरी नेताहरूको कार्यशैली र सुशासनका विषयमा । हामीले नयाँ नेतृत्व र परिमार्जित नीतिअनुसार गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छौँ ।” उनले कांग्रेसभित्रको आन्तरिक गुटबन्दी अन्त्य भएको र पार्टी एक ढिक्का भएर चुनावमा होमिएको दाबी समेत गरे ।

एमालेलाई विकास र नेतृत्वको साख जोगाउन मुस्किल
यस क्षेत्रमा नेकपा एमालेको अवस्था भने केही रक्षात्मक देखिएको छ । एमाले उम्मेदवार दिलिपकुमार बगडिया रंगेली नगरपालिकाको मेयर रहँदा आशातित काम नगरेको आरोप मतदाताले लगाएका छन् । घिमिरेका अनुसार, बगडियाले ११० किलोमिटर सडक कालोपत्रे गरेको दाबी गरे पनि वास्तविकतामा त्यस्तो नदेखिएको र भएका कामहरू पनि भारतीय सहयोग वा संघीय सरकारको बजेटबाट भएको भन्दै स्थानीय रुष्ट छन् ।

यसका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा भएका केही विवादास्पद निर्णयहरूको असर पनि तल्लो तहका मतदातामा देखिएको छ । स्थानीयले खानेपानी, सिँचाइ र सडकजस्ता आधारभूत आवश्यकताका विषयमा एमाले नेतृत्वसँग प्रश्न गरिरहेका छन् ।

निर्णायक बन्दै ‘‘घण्टी’
यसपटकको चुनावमा ‘घण्टी’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका कृष्णकुमार कार्कीले लेबर क्लासमा पकड बनाएको अन्य राजनीतिक दलहरुको बुझाइ छ । रिक्सा चालक, सिटी सफारी चालक र न्यून आय भएका वर्गले पुराना दलहरूलाई ‘नो भोट’ भन्दै नयाँ विकल्प रोज्ने संकेत दिएका छन् । घिमिरे पनि फिल्डमा जाँदा पहिलको जस्तो दृश्य नदेखिएको र केही परिवर्तन देखिएको स्वीकार्छन् ।

कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजाललाई बीचमा क्षेत्र छोडेको आरोप लाग्ने गरे पनि उनले आफू सधैँ जनताको सम्पर्कमा रहेको स्पष्टीकरण दिँदै आएका छन् । उनलाई एक अध्ययनशील र सालिन नेताका रूपमा चित्रण गर्दै कांग्रेसले चुनावी एजेण्डा बनाएको छ । विशेषगरी एमालेको उग्रता र नयाँ दलको अनुभवहीनताको बीचमा रिजाललाई सन्तुलित र परिपक्व नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ ।

मोरङ–२ मा यसपटक पार्टीको झण्डा भन्दा पनि जनताको असन्तुष्टि र नयाँप्रतिको आकर्षणले जित–हारको फैसला गर्ने देखिन्छ । पुराना दलहरूले आफ्नो विरासत जोगाउन कडा संघर्ष गर्नुपर्ने अवस्था छ भने रास्वपाका कार्कीले गर्ने मत विभाजनले कसलाई फाइदा पुर्‍याउँछ भन्ने चासोको विषय बनेको छ । चुनाव आउन केही दिन मात्र बाँकी रहँदा मोरङ–२ को नतिजा कसको पक्षमा जान्छ, त्यसका लागि फागुन २१ गते नै कुर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।