झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि आज फेरि आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने हुनुभएको छ। ओली आज बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट भद्रपुर विमानस्थल ओर्लिएर सिधै निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका रहेको छ।
अध्यक्ष ओली फागुन ६ गतेसम्म झापामै रहेर मतदाताहरूसँग घनिभूत भेटघाट र चुनावी अभियानमा सहभागी हुनुहुनेछ। यसअघि माघ २३ गते झापा आएका ओलीले ७ दिनको बसाइमा करिब ८० वटा गाउँको भ्रमण गरी काठमाडौँ फर्किएका थिए । आजको कार्यक्रम अनुसार उनले शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकहरूसँगको विशेष भेलामा सहभागी भई छलफल गर्नेछन् ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार ओलीले दमक–२ स्थित आफ्नो अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम समेत तय गरिएको छ। एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालले ओलीको ६ दिने बसाइका क्रममा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो गर्ने कार्यतालिका रहेको जानकारी दिए । हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा चुनावी कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ।
एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार सोमबारका लागि दमकका विभिन्न चोकहरूमा ओलीको उपस्थिति रहने गरी कार्यतालिका सार्वजनिक गरिएको छ। सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोकबाट सुरु हुने भेटघाट कार्यक्रम ११ :५० मा दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपराह्न ४ बजे दमक–३ कै आमचोकमा पुगेर समापन हुनेछ। यी सबै स्थानमा अध्यक्ष ओलीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्ने वातावरण मिलाइएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।