विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। अध्यक्ष उपेन्द्र यादवद्वारा सार्वजनिक गरिएको उक्त घोषणापत्रमा महत्त्वाकांक्षी आर्थिक लक्ष्यदेखि राजनीतिक सुधारका योजनाहरू समेटिएका छन्।
जसपा नेपालले आगामी पाँच वर्षभित्र ५० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। यसका लागि कृषि क्षेत्रलाई मुख्य आधार बनाइने र विशेष गरी भर्टिकल फार्मिङलाई प्रवर्धन गरिने उल्लेख छ। यद्यपि, यति ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने ठोस विधि र प्रक्रियाबारे भने घोषणापत्रमा विस्तृत खुलाइएको छैन।
पार्टीले वर्तमान संविधान अपूर्ण रहेको भन्दै संविधान पुनर्लेखनको मुद्धालाई पुनः अगाडि सारेको छ। संविधान संशोधन, परिमार्जन र पुनर्लेखनका लागि विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्ने प्रस्ताव गरिएको छ। राष्ट्रिय पहिचानमा आधारित संघीयता, निर्वाचन प्रणालीमा सुधार र न्याय प्रणालीलाई संघीय ढाँचामा पुनर्संरचना गर्ने जसपाको मुख्य एजेन्डा छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको व्यापारीकरण रोक्न जसपाले कडा नीति लिने घोषणा गरेको छ । स्वास्थ्य सेवालाई पूर्णतः नागरिक केन्द्रित, निःशुल्क र गुणस्तरीय बनाउने बाचा गरिएको छ। हरेक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल र प्रदेशमा अत्याधुनिक बहुविशिष्टिकृत अस्पताल बनाइनेछ। शिशु कक्षादेखि उच्च शिक्षासम्मको शिक्षा प्रणालीमा एकरूपता ल्याइने र निजी क्षेत्रको वर्चस्व हटाएर शिक्षाको पूर्ण सार्वजनिकीकरण गरिने उल्लेख छ। प्रत्येक प्रदेशमा कृत्रिम बौद्धिकतामा आधारित अनुसन्धान केन्द्र स्थापना गरिनेछ।
भ्रष्टाचार अन्त्यका लागि जसपाले जनलोकपालको अवधारणा अघि सारेको छ । वि.सं. २०४८ सालदेखि हालसम्मका प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने घोषणापत्रमा उल्लेख छ। भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन विद्यमान संरचनाको सट्टा जनलोकपाल ल्याउनुपर्ने पार्टीको ठहर छ।
भ्रष्टाचार न्यूनीकरणका लागि शतप्रतिशत क्यासलेस (नगदरहित) अर्थतन्त्र बनाउने लक्ष्य लिइएको छ। बैंकहरूलाई नाफा कमाउने संस्था मात्र नभई सेवा केन्द्रित बनाइने र सहकारी पीडितहरूको रकम फिर्ता गराउने प्रतिबद्धता गरिएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको लागत रोजगारदाताले नै बेहोर्ने गरी फ्री भिसा र फ्री टिकटको नीति पूर्ण रूपमा लागू गरिनेछ।
नयाँ पुस्ताको राजनीतिक र सामाजिक चेतनालाई ुपरिवर्तनको संकेतु मान्दै जसपाले युवा विद्रोह र उनीहरूको सपनालाई साथ दिने बताएको छ।
आगामी ५ वर्षभित्र हुलाकी राजमार्ग सम्पन्न गर्ने र निजगढ–काठमाडौं द्रुतमार्ग २ वर्षभित्रै सञ्चालनमा ल्याउने दाबी गरिएको छ। सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट र फुटबल रङ्गशाला निर्माण गरिनेछ। मधेसलाई मरुभूमीकरण हुनबाट जोगाउन चुरे संरक्षण र हरित विकासलाई राष्ट्रिय प्राथमिकता दिइनेछ।
जसपाले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूलाई सत्ता र शक्तिको भोको शक्तिका रूपमा चित्रण गरेको छ। यी दलहरूले गर्दा मुलुकमा राजनीतिक अस्थिरता बढेको र आधारभूत सेवाहरू शिक्षा, स्वास्थ्य बजारको वस्तु बनेको जसपाको निष्कर्ष छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।