सङ्खुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सङ्खुवासभामा निर्वाचन आचारसंहिता २०८२ को अनुगमन कडाइ गरिएको छ।
आचारसंहिता उल्लंघनका उजुरी बढेपछि निर्वाचन आचारसंहिता अनुगमन समिति सक्रिय बनेको हो।
आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारहरूले खाँदबारी बजार क्षेत्रभित्र राखेका पोस्टर र ब्यानर हटाइएको छ। सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचारप्रसार गर्दै भोट मागेको उजुरीका आधारमा आधा दर्जन शिक्षकसँग लिखित स्पष्टीकरण सोधिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत चिरञ्जीवी अधिकारीले जानकारी दिए। आचारसंहिता उल्लंघन गर्ने कर्मचारीहरूको नाम भने सार्वजनिक गरिएको छैन।
त्यसैगरी, बहाल रहेको स्थानीय तहभित्र निर्वाचन प्रचारप्रसार गरेको भन्दै सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका र धर्मदेवी नगरपालिकाका कार्यपालिका पदाधिकारीलाई ध्यानाकर्षण गराइएको समितिले जनाएको छ। निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ३, दफा ५ (क) (४) अनुसार स्थानीय कार्यपालिका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउने व्यवस्था छ।
समितिले आचारसंहिता विपरीत गतिविधि पुनः दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको सङ्खुवासभामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन्। जिल्लाभर १ सय ९ मतदान स्थल र १ सय ६४ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनमा १५ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।