लोड हुँदैछ...

मेनु

मोरङ क्षेत्र नं. ४ मा जीवन घिमिरेको विकास एजेन्डाः

बैजनाथपुर रंगशालाको स्तरोन्नति प्राथमिकतामा

बैजनाथपुर रंगशालाको स्तरोन्नति प्राथमिकतामा

विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आफूलाई विकासप्रेमी नेताका रूपमा प्रस्तुत गर्दै घिमिरेले यस क्षेत्रको भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेका छन् । उनको प्रतिबद्धता पत्रमा सबैभन्दा चर्चाको विषय बनेको छ— बैजनाथपुर रंगशालाको स्तरोन्नति ।

घिमिरेले आफ्नो प्रतिबद्धता पत्रमा वैजनाथपुर रंगशालालाई स्तरउन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेका छन् । यद्यपि, यो रंगशालाको नामकरण र बजेटलाई लिएर भने राजनीतिक वृत्तमा फरक बहस सुरु भएको छ । अघिल्लो सरकारले उक्त रंगशालाको नाम ‘गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला’ राखेको थियो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी बजेट समेत विनियोजन गरेको थियो । तर, घिमिरेको प्रतिबद्धता पत्रमा रंगशालाको नाम ‘वैजनाथपुर’ नै उल्लेख गरिएको छ, जसले उनले अघिल्लो सरकारले गरेको नामकरणलाई स्वीकार नगरेको प्रष्ट देखिन्छ । यति मात्र होइन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा उक्त रंगशालाका लागि छुट्याइएको बजेट कार्यान्वयन नगरी कटौती गरिएको भन्दै विपक्षीहरूले आलोचना समेत गर्दै आएका छन् ।

प्रतिबद्धताहरूको चाङ
घिमिरेले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख ऐन कानून निर्माणदेखि भ्रष्टाचार नियन्त्रणसम्मका विषयलाई आफ्नो घोषणापत्रमा समेटेका छन् । उनले कटहरी, ग्रामथान र बेलबारीका ग्रामीण क्षेत्रलाई ‘तरकारी पकेट क्षेत्र’ घोषणा गरी बजार व्यवस्थापन गर्ने, ग्रामथानको झोराहाटमा कोल्ड स्टोर स्थापना गर्ने र मोरङ, सुनसरी तथा झापाकै गौरवको रूपमा रहेको ‘तमोर–चिसाङ डाइभर्सन परियोजना’ सञ्चालन गर्न पहल गर्ने बाचा गरेका छन् ।

युवा स्वरोजगारका लागि विराटनगरमा ‘आईटी हब’ बनाउने र रोजगार बैंकको अवधारणा कार्यान्वयन गर्ने उनको योजना छ । स्वास्थ्य क्षेत्रतर्फ बेलबारी, ग्रामथान र कटहरीमा १०० बेडको अस्पताल स्थापना गर्ने तथा कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । भूमिहीन र सुकुम्वासी समस्या समाधानका लागि लालपूर्जा वितरण गर्ने विषयलाई पनि उनले विशेष जोड दिएका छन् ।

विगतका कामको फेहरिस्त
आफूलाई परीक्षण भइसकेको नेताका रूपमा प्रस्तुत गर्दै घिमिरेले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुँदा गरेका कामहरूलाई पनि जनतामाझ लगेका छन् । उनले आफ्नो कार्यकालमा सिंघिया खोला सफाइ अभियानको नेतृत्व गरेको, २०० जना योग प्रशिक्षक तयार पारी सप्ताहव्यापी योग शिविर सञ्चालन गरेको र खेलकुद क्षेत्रमा ‘एक पालिका एक खेल मैदान’ जस्ता कार्यक्रम सुरु गरेको दाबी गरेका छन् ।

त्यस्तै, ज्येष्ठ नागरिकहरूका लागि दन्त उपहार र दिवा सेवा केन्द्र स्थापना, अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम र शहीद रंगशालामा फ्लडलाइट जडान गरी रात्रिकालीन खेलकुदको सुरुवात गरेको विवरण पनि उनले सार्वजनिक गरेका छन् ।

विगतको अनुभव र भावी योजनासहित चुनावी मैदानमा होमिएका घिमिरेका लागि बैजनाथपुर रंगशालाको विकास एउटा मुख्य कसी बन्ने देखिएको छ । नामको विवाद र काटिएको बजेटका बिच उनले यस आयोजनालाई कसरी अगाडि बढाउँछन् भन्ने कुराले यस क्षेत्रको चुनावी नतिजामा अर्थ राख्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।