काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फिर्तीलाई लक्षित गरी प्रशासनले लगाएको निषेधाज्ञाप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लिङ्देनले यस्तो कदमले झन् निर्वाचनको वातावरण बिथोलिन सक्ने चेतावनी दिएका हुन्।
भोलि फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्कने कार्यक्रम छ। सो क्रममा राजावादीहरूले विमानस्थलमा स्वागत एवं प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका( काठमाडौँले सुरक्षा र आसन्न निर्वाचनको वातावरणलाई कारण देखाउँदै त्रिभुवन विमानस्थल परिसरमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले यस्ता प्रदर्शनले चुनावी माहोल बिथोलिन सक्ने दाबी गर्दै निषेधाज्ञा तोडेमा कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ।
प्रशासनको यो निर्णयप्रति प्रश्न उठाउँदै अध्यक्ष लिङ्देनले सरकार आफैँले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘जिप्रकाले जारी गरेको निषेधाज्ञा चुनाव बिथोलिन नदिने हो कि आफैँ बिथोल्न लागेको होरु संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढङ्गले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा? ’
लिङ्देनले नागरिकको संवैधानिक अधिकारलाई कुण्ठित गरेर चुनावको नाममा लगाइएको निषेधाज्ञा प्रत्युत्पादक हुनसक्नेतर्फ ध्यानाकर्षण गराएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।