लोड हुँदैछ...

मेनु

पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौँ फर्कँदै, स्वागतको तयारीपछि विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी

पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौँ फर्कँदै, स्वागतको तयारीपछि विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौँ । झापामा चार महिनाको लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्कँदै छन्। उनी निकट स्रोतका अनुसार ज्ञानेन्द्र दिउँसो १२ बजेर ४० मिनेटमा बुद्ध एयरको विमानबाट काठमाडौँ आइपुग्ने कार्यक्रम छ।

पूर्वराजाको स्वागतका लागि राजावादीहरूले विमानस्थल क्षेत्रमा ठूलो प्रदर्शन र भेला गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले विमानस्थल परिसरमा निषेधाज्ञा जारी गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक विज्ञप्ति जारी गर्दै विमानस्थल क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस गर्न रोक लगाएका हुन्।

प्रशासनले विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जनाएको छ। साथै, सरकारले आसन्न निर्वाचनको आचारसंहितालाई समेत मध्यनजर गर्दै भिडभाड र प्रदर्शनमा कडाइ गरेको हो।

विगत केही दिनदेखि व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समूहसहितका राजावादीहरूले पूर्वराजालाई भव्य स्वागत गर्न सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गर्दै आएका थिए। विमानस्थलमा हुनसक्ने सम्भावित भिड र तनावलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

विमानस्थलदेखि गौशाला, रिङरोड हुँदै पूर्वराजाको निवास निर्मलनिवाससम्मको सडक खण्डमा विशेष सुरक्षा टोली परिचालन गरिएको छ। पत्नी कोमल शाहको जन्मदिन मनाउनका लागि पूर्वराजा काठमाडौँ आउन लागेका हुन्। प्रशासनको निषेधाज्ञाका बाबजुद राजावादीहरूले विभिन्न स्थानमा भेला भएर स्वागत गर्ने तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।