विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विद्यमान राष्ट्रिय संकट समाधानका लागि सम्पूर्ण राष्ट्रिय शक्तिहरुलाई एकजुट हुन अपिल गर्नुभएको छ। महान जनयुद्ध सुरु भएको ३० वर्ष पूरा भई ३१औं वर्षमा प्रवेश गरेको अवसरमा जनयुद्धको आधार भूमि रुकुम पूर्वबाट भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो।
नेपालमा आमूल परिवर्तनको उद्देश्यसहित २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धको ऐतिहासिक महत्वलाई स्मरण गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा सबै पक्षको सहकार्य र एकता अपरिहार्य रहेको बताउनुभयो। शुभकामना सन्देशका क्रममा उहाँले भन्नुभयो, “नेपालमा आमूल परिवर्तनका लागि सुरु गरिएको महान जनयुद्ध २०५२ साल फागुन १ गते, आज त्यो दिन ३० वर्ष पूरा भएर ३१ औं वर्षमा प्रवेश गरेको छ।”
जनयुद्धकै जगमा नेपालमा सदिऔँ देखिको राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको सन्दर्भलाई जोड्दै उहाँले सहिद र बेपत्ता परिवारप्रति सम्मान प्रकट गर्नुभयो। उहाँले भन्नुभयो, “सबभन्दा पहिला त म ती सबै महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु, सबै बेपत्ता योद्धा र घाइते अपाङ्ग सबै योद्धाहरुप्रति सम्मान प्रकट गर्न चाहन्छु र उहाँका सबै परिवारजनप्रति पनि म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।”
मुलुक अहिले विभिन्न अप्ठ्यारा परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै प्रचण्डले राष्ट्रिय शक्तिहरुको ध्रुवीकरण र एकतामा जोड दिनुभयो। वर्तमान परिस्थितिको विश्लेषण गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, “अहिले परिस्थिति नयाँ बनेको छ, जे-जे आन्दोलन र त्यसपछिको विध्वंश जे भयो त्यसले राष्ट्र निकै अप्ठ्यारोमा छ, त्यस्तो परिस्थितिमा हामी यो जनयुद्ध दिवस मनाउँदैछौँ।”
उहाँले थप्नुभयो, “यहाँबाट आज राष्ट्रमा आएको संकट समाधानका निम्ति सम्पूर्ण राष्ट्रिय शक्ति एक हुनुपर्ने र यो निर्वाचनमार्फत फेरि एकचोटि सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरु गर्न अपरिहार्य देखेको छु।”
जनयुद्धको समयमा रुकुम र रोल्पाले खेलेको रणनीतिक भूमिकाको चर्चा गर्दै प्रचण्डले आफू सोही आधार भूमिमा उभिएर देशलाई नयाँ दिशा दिने संकल्पमा रहेको बताउनुभयो। रुकुम पूर्वबाट उम्मेदवारको हैसियतमा सन्देश दिँदै उहाँले भन्नुभयो, “मेरो लागि एकातिर गर्वको कुरा र एकातिर निकै ठूलो जिम्मेवारीको कुरा भएको छ कि म यो जनयुद्ध दिवसमा रुकुम पूर्व आएर मनाउँदैछु र रुकुम पूर्वको प्रत्यक्ष तर्फको उम्मेदवारको हैसियतले पनि मैले आज यो दिवस मनाउँदैछु।”
उहाँले जनयुद्धका बाँकी कार्यभार र सहिदका सपना पूरा गर्न नयाँ समाजवादी अभियानको खाँचो रहेको औंल्याउनुभयो। “सहिदका सपना पूरा गर्ने, रुकुम रोल्पा जस्ता केन्द्रीय आधार इलाकाले खेलेको भूमिकालाई फेरि एकचोटि देशभरि स्थापित गर्ने जिम्मेवारी पूरा गर्नु छ, म त्यही उद्देश्यका साथ र एउटा नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको छु,” उहाँले भन्नुभयो।
अन्तमा, प्रचण्डले ३१औं जनयुद्ध दिवसको अवसरमा देशभरका क्रान्तिकारी र देशभक्त जनसमुदायलाई एकजुट भई सुशासन र समृद्धिको यात्रामा होमिन हार्दिक अपिल समेत गर्नुभएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।