इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी र समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन् ।
बिहीबार सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी आइपुगेकी प्रधानमन्त्री कार्कीले प्रदेशस्तरीय समीक्षा बैठक गर्दै आवश्यक निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले छोटो अवधिमा गरिएको तयारीको प्रशंसा गर्दै यसलाई सबै निकायको समन्वयात्मक र एकीकृत प्रयासको प्रतिफल भएको बताइन् । आफूले प्राप्त गरेको जानकारी र स्थलगत अवलोकनपछि अब मतदाताले मतदान गर्न मात्र बाँकी रहेको अवस्था देखिएको उनको भनाइ थियो। उनले आगामी दिनमा पनि सबै निकायबीच घनिष्ठ समन्वय कायम राख्दै चुस्त र दुरुस्त व्यवस्थापन सुनिश्चित गर्न निर्देशन दिइन्।
निर्वाचनको वातावरण विथोल्ने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट गलत सूचना फैलाउने र अस्थिरता सिर्जना गर्न खोज्ने तत्त्वलाई तत्काल पहिचान गरी निरुत्साहित गर्न सुरक्षा निकायलाई निर्देशन दिइन्। देशलाई निकास दिन निर्वाचन अत्यन्त महत्वपूर्ण भएकाले यसमा कुनै सम्झौता नहुने उनको स्पष्ट सन्देश थियो।
बैठकमा कोसी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरे, विभिन्न जिल्लाका मुख्य निर्वाचन अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाबारे प्रस्तुतीकरण दिएका थिए।
यसअघि प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा समेत निर्वाचन तयारीको स्थलगत जानकारी लिएकी थिइन्। उनी बिहीबार इटहरीमै बस्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।