विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक सातासम्म झापा ५ का मतदातासँग भेटघाट गरी काठमाडौं फर्किएका छन्।
आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिकाका विभिन्न वडामा पुगेर ओलीले मतदाता, कार्यकर्ता तथा शुभेच्छुकसँग छलफल गरेका थिए ।
निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार ओलीले कमल गाउँपालिकाका सबै वडामा भेटघाट गरेका छन् । त्यस्तै गौरादह नगरपालिकाका ८ वडासहित गौरिगञ्ज गाउँपालिकाका तीन वडामा वडास्तरीय कार्यक्रम सम्पन्न गरेर उनी काठमाडौं फर्किएका हुन् । यसअघि माघ ५ गते पनि उनी निर्वाचन क्षेत्रमा आएका थिए।
झापा बसाइका क्रममा ओलीले दमक नगरपालिकामा वडास्तरीय पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरूसँग छलफल गरेका थिए । सार्वजनिक सभाभन्दा बढी अनौपचारिक भेटघाटमा केन्द्रित रहेका उनले मतदाता र शुभेच्छुकसँग ‘झापालाई मैले मत लिने मात्र ठाउँका रूपमा कहिल्यै सोचिनँ, सुख–दुःखमा जहिल्यै झापालीसँगै रहेँ’ भन्ने सन्देश दिएका थिए।
काठमाडौं फर्किने क्रममा अध्यक्ष ओली भद्रपुर–१ हिमालीस्थित जेन–जी आन्दोलनका क्रममा जलाइएको आफ्नो पैतृक घर अवलोकन गर्न पुगेका थिए । पत्नी राधिका शाक्यसहित पुगेका ओली घर जलेपछि पहिलोपटक त्यहाँ पुगेका हुन् । स्थानीयले उनका बुबाको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दा ओलीले जलेको घर हेर्न कसरी पठाउने भन्दै घटनाबारे बुबालाई जानकारीसमेत नदिएको बताएका थिए।
ओलीको उपस्थितिसँगै ‘हामी झापाली’ अभियानसमेत सुरू भएको छ। झापाका क्याफे, होटल र रेष्टुरेन्टहरूमा उक्त अभियानका स्टिकर टाँसिएका छन् । सामाजिक सञ्जालमार्फत पनि अभियान विस्तार भएको छ।
ओलीको आधिकारिक फेसबुक पेजबाट सुरू गरिएको ‘हामी झापाली’ अभियानमा एमालेका समर्थकले सहभागिता जनाएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।