लोड हुँदैछ...

मेनु

घण्टीको चुनौती चिर्न डा. शेखरको नयाँ शैली :

मतदाता फकाउन ‘मर्निङ वाक’को सहारा

मतदाता फकाउन ‘मर्निङ वाक’को सहारा

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा सधैँ ‘हाइप्रोफाइल’ राजनीति गर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको चुनावी शैली यसपटक बदलिएको छ । विगतका निर्वाचनहरूमा सहज जित निकाल्ने र चुनाव जितेपछि विरलै क्षेत्रमा देखिने कोइरालालाई यसपटक नयाँ राजनीतिक शक्ति (राष्ट्रिय स्वतन्त्र पार्टी) ले कडा चुनौती दिएपछि उनी रणनीति बदल्न बाध्य भएका हुन् ।

इतिहासमै पहिलो पटक डा. कोइराला भोट माग्नकै लागि ‘मर्निङ वाक’ समूह बनाएर गाउँ–टोल पुग्न थालेका छन् । विगतमा सुकिला–मुकिला कार्यकर्ताको घेरामा रहने उनी अहिले एकाबिहानै ट्रयाकसुट र जुत्तामा सजिएर मतदाताको घरदैलोमा देखिन थालेका हुन् ।

‘भेट्न आउने बहाना मात्रै हो’
शनिबार बिहान विराटनगरको ज्वाला टोल पुगेका डा. कोइरालाले स्थानीयसँगको भेटमा आफू विगतमा मतदातासँग टाढिएको सङ्केत गर्दै भने, “तपाईँहरूसित धेरै भेटघाट भएको हुँदैन, त्यसैले मेरो यो मर्निङ वाक तपाईँहरूलाई भेट्ने एउटा बहाना मात्रै हो । यसले स्वास्थ्यलाई त फाइदा गर्छ नै, मुख्य कुरा तपाईँहरूसँग संवाद गर्ने अवसर जुराएको छ ।”

सम्बोधनका क्रममा डा. कोइरालाले नयाँ पुस्ता (जेन–जी) मा देखिएको राजनीतिक विद्रोहप्रति चिन्ता व्यक्त गरे । उनले अहिलेको सामाजिक र राजनीतिक अस्थिरतालाई सङ्केत गर्दै भने, “अहिले आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा समाज यस्तरी खल्बलियो कि, यसलाई ठिक ठाउँमा ल्याउन अर्को ५० वर्ष लाग्छ कि भन्ने चिन्ता मलाई लागेको छ । म मात्र होइन, तपाईँ व्यवसायी र नागरिक पनि यसबाट चिन्तित हुनुहुन्छ ।”

उनले नयाँ पुस्ताको मुख्य माग रोजगारी भएको उल्लेख गर्दै लगानी सुरक्षित नभएसम्म रोजगारी सिर्जना हुन नसक्ने ठोकुवा गरे । “व्यवसाय विस्तार नभई रोजगारी आउँदैन, तर यहाँ लगानी नै सुरक्षित छैन । धर्म, संस्कृति र सभ्यतामाथि प्रहार भइरहेको छ, यसलाई म्यानेज गर्ने जिम्मेवारी हाम्रो हो,” उनले भने ।

कोइरालाले देशको विकासका लागि बलियो र एकल सरकार आवश्यक रहेको तर्क गरे । उनले वि.सं. २०४८ देखि २०५१ सम्मको कांग्रेस सरकारलाई ‘स्वर्णिम अक्षर’ले लेखिएको कालखण्डको रूपमा चित्रण गरे ।

स्वर्गीय शैलजा आचार्यको योगदान स्मरण गर्दै उनले भने, “त्यसबेलाको दूरदृष्टिले गर्दा नै नेपाल अहिले बाँचिरहेको हो । निजी क्षेत्रलाई विद्युत उत्पादनमा ल्याउने शैलजा दिदी नै हुनुहुन्थ्यो । किसानलाई सहुलियत दिने कुरामा उहाँको अडान थियो । तर अहिले गठबन्धनको खिचडी सरकारले देशलाई निकास दिन सक्दैन ।”

राजनीतिक दलहरूको गठबन्धन (A, B, C र X, Y, Z) बाट बन्ने सरकारले अस्थिरता मात्रै निम्त्याउने बताउँदै उनले अन्त्यमा भने, “समस्या समाधान गर्न र व्यवसायीका पीरमर्का बुझ्न अब देशमा एउटै दलको एकल सरकार बनाउनुपर्छ, अनि मात्रै विकास सम्भव छ ।”

पहिलेको जस्तो चुनाव जित्न सहज नभएको महसुस गरेपछि कोइरालाले सुरु गरेको यो ‘मर्निङ वाक अभियान’ले निर्वाचनमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी नै छ । तर, मतदातासँग प्रत्यक्ष जोडिने उनको यो प्रयासलाई विराटनगरमा चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।