सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित कटुवाल टोलमा २२ माघको दिउँसो टेकबहादुर कटुवाल आफ्ना १० जना कामदार (जहान) लिएर दुई बिघाको उखु काट्न व्यस्त थिए । बर्जुस्थित इस्टर्न सुगर मिलले उखु ल्याउने ‘पूर्जी’ (टोकन) दिएपछि उनलाई भ्याइनभ्याइ भएको हो । तर, यो व्यस्ततामा उनीमा उत्साहभन्दा बढी निराश झल्किन्छ । ‘उखु त काट्दैछौं, तर मन पोलेको छ,’ उखुको भारी मिलाउँदै गर्दा टेकबहादुरले भने, ‘राज्यले दिने भनेको ७० रुपैयाँ अनुदान अझै पाइएको छैन । हाम्रो त पसिनाको मूल्य नै यही उखुको लाँक्राजस्तै सुक्दै गएको छ ।’
सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको थियो । जसमा उद्योगले ५६५ र सरकारले ७० रुपैयाँ अनुदान दिने सम्झौता थियो । तर, त्यही ७० रुपैयाँ पाउन किसानले भदौ ८ गते काठमाडौंका सडकमा धर्ना दिए, माइतीघरमा पुगेर आन्दोल गरे । आश्वासन त पाए, तर धेरैको खातामा अझै पैसा पुगेको छैन । टेकबहादुरकै ५० हजार रुपैयाँ बक्यौता छ । ‘‘ठूला मान्छेलाई यो सानो रकम होला, हाम्रो लागि त बच्चाको स्कुल फी र घरको नुन–तेल हो,’’ उनले भने ।
अहिले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको रापले सुनसरी–३ तात्तिएको छ । उम्मेदवारहरू किसानका खेतैसम्म पुगिरहेका छन् । तर किसानका लागि भने चुनाव केवल ‘भोट दिने पर्व’ मात्र रहेन, यो आफ्नो थाती रहेको अनुदान उठाउने अन्तिम अस्त्र बनेको छ ।
बर्जु–५ सितागन्जका पुर्शराम सत्यालले ८ बिघामा उखु लगाएका छन् । मिलसँग उनको गुनासो छैन, तर सरकारसँग आक्रोश छ । २ हजार क्विन्टल उखुको १ लाख ४० हजार रुपैयाँ अनुदान नपाउँदा उनी खिन्न छन् । ‘काठमाडौंसम्म पुगेर नारा लगाइयो, तर सरकारले बजेटमै नराखेर हामीलाई ठग्यो,’ सत्याल भन्छन्, ‘यसपालि त जो आउँछ, उसैलाई सोध्छौँ– हाम्रो अनुदान कहिले आउँछ ?’
माघमा रोपेको उखु तयार हुन १८ महिना लाग्छ । एक बिघामा कम्तीमा ३ लाख रुपैयाँ लगानी डुब्छ । ‘‘डेढ वर्ष कुर्नु पर्छ पैसा पाउन, त्यसमा पनि सरकारले दिने अनुदान लिन अर्को एक वर्ष कुर्नुपर्ने ?’’ सत्यालले भने ।
बर्जु–२ का ३१ वर्षीय प्रदिप राय बयलगाडामा उखु लोड गर्दै थिए । ३१ वर्षदेखि यही पेसामा रहेका उनी प्रतिक्विन्टल ८० रुपैयाँमा उखु बोक्ने काम गर्छन् । एक खेपमा ३२ क्विन्टलसम्म उखु मिल पु¥याउँछन् । उनको आफ्नै १२ कठ्ठाको उखुको अनुदान पनि सरकारी फाइलमै थुनिएको छ । ‘यसपटक देश बदल्ने र किसानको दुःख बुझ्नेलाई मात्र भोट दिने विचार छ,’ रायले भने । सुनसरी, मोरङ र झापामा गरी करिब साढे ५ हजार बिघामा उखु खेती हुन्छ । त्यसमध्ये २ हजार ५ सय किसानले ३ हजार ५ सय बिघा सुनसरीमै खेती गर्दछन् ।
सुनसरी क्षेत्र नम्बर ३ आफैंमा एउटा ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्र हो । यहाँ यसपटक त्रिपक्षीय भिडन्तको संकेत देखिएको छ ।
कांग्रेसबाट भेट्रान नेता विजयकुमार गच्छदार मैदानमा छन् । उनी ६ पटक निर्वाचित भइसकेका र १२ पटक मन्त्री बनिसकेका ‘सत्ता राजनीतिका चतुर खेलाडी’ मानिन्छन् । तर, यसपटक उनको साख पहिले जस्तो छैन । ललिता निवास जग्गा प्रकरणको दाग र अघिल्लो निर्वाचनमा एमालेकी भगवती चौधरीसँगको पराजयले उनी रक्षात्मक अवस्थामा देखिन्छन् । २०७९ को चुनावमा चौधरीले ४० हजार ७८८ मत ल्याइन् । गच्छदार ३५ हजार ६०० मतमा सीमित भए । ७९ वर्षको उमेरमा ‘अन्तिम पटक’ भन्दै उनी मत मागिरहेका छन् । तर, उनकै पार्टीभित्र सभापती गगन थापा नेतृत्वको नयाँ धारको उदय र टिकट वितरणमा देखिएको किचलोले उनलाई सकस पारेको छ ।
अर्कोतर्फ, एमालेकी भगवती चौधरी छिन् । अघिल्लो निर्वाचनमा गच्छदारको अपराजित यात्रालाई ब्रेक लगाएकी चौधरी यसपटक आफ्नो विरासत जोगाउने दाउमा छिन् । यद्यपि, सत्तामा हुँदा किसानका समस्या समाधान गर्न नसकेको आरोप उनीमाथि पनि छ ।
यही पुरानो लडाइँको बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अशोक चौधरी मैदानमा उत्रिएका छन् भने नेकपबाट दुर्गेस चौधरी रहेका छन् ।
१ लाख ३४ हजार ३०२ मतदाता रहेको यो क्षेत्र थारू समुदायको बाहुल्य भएको ठाउँ हो । २३ जना उम्मेदवारमध्ये १० जना थारू समुदायकै हुनुले पनि यहाँको जातीय समीकरण कति जटिल छ भन्ने देखाउँछ । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेकी चौधरीले जितेपनि पनि यसपटक रास्वपा र स्वतन्त्र उम्मेदवारहरूको सक्रियताले पुराना दलहरूलाई चुनौती थपिएको छ । यस क्षेत्रमा दुहबी नगरपालिका, इटहरी उपमहानगरको ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५ नम्बर वडाहरू, इनरूवाको ७ नम्बर वडा, गढी र बर्जु गाउँपालिका समेटिएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।