लोड हुँदैछ...

मेनु

गगनलाई भावी प्रधानमन्त्री घोषणा गरिएकोमा शेखर असन्तुष्ट, भन्छन्: ‘त्यसबारे चुनाबपछि निर्णय हुने हो’

गगनलाई भावी प्रधानमन्त्री घोषणा गरिएकोमा शेखर असन्तुष्ट, भन्छन्: ‘त्यसबारे चुनाबपछि निर्णय हुने हो’

विराटनगर । नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का उम्मेदवार डा.शेखर कोइराला पार्टीले सभापति गगन थापालाई प्रधानमन्त्री घोषणा गरेकोमा असन्तुष्ट देखिएका छन् ।

चुुनाब प्रचारको क्रममा यसअघि पार्टी निर्णयविपरित आफैंलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका शेखरले पार्टीले चुनाबअघि प्रधानमन्त्रीको उम्मेदवार अगाडि सारेकोमा असन्तुष्टि जनाएका हुन् । गगन नेतृत्वमा पुगेको विषयमा आफूलाई आपत्ती नभएको बताउँदै उनले प्रधानमन्त्री घोषणा गर्नु भने कम्युनिष्टहरूको नक्कल भएको प्रतिक्रिया दिएका छन् । गगनलाई प्रधानमन्त्री घोषणा गरेकोप्रति असन्तुष्ट रहेका कोइरालाले अरुको नक्कल गर्न आफूलाई नआउने भन्दै समय र परिस्थितिले दिएको जिम्मेवारी बहन गर्ने क्षमता राख्ने बताए ।

कांग्रेसको विधान र चलनले निर्वाचन अगाडि प्रधानमन्त्री तोकेर नजाने कोइरालाको जिकिर छ । ‘संसदीय दलको नेता कांग्रेसको प्रधानमन्त्री हुने चलन छ । निर्वाचनपछि संसदीय दलको निर्वाचन हुन्छ र संसदीय दलबाट निर्वाचित भएको व्यक्ति नै प्रधानमन्त्रीको क्यान्डिडेट हो’ उनले भने, ‘हामी कम्युनिष्हरूको नक्कल गर्ने पार्टी होइन ।’ कोइरालाले चुनाबपछि संसदीय दलको निर्वाचन हुने बताउँदै गगनलाई अस्वीकार गर्ने संकेत गरेका छन् ।

संसदीय व्यवस्थामा आफ्नो पार्टीको नेता चुन्ने अधिकार जितेर गएका प्रतिनिधिहरुलाई हुने भन्दै कोइरालाले सम्बन्धित पार्टीको कार्यसमितिलाई संसदीय व्यवस्थाको नेता चुन्ने अधिकार नभएको बताए । गठजोडको सरकार बनाउँदा सहकार्य गरेको भन्दैमा कम्युनिष्टको नक्कल गर्न नहुने उनले बताए ।

चुनाबपछि संसदीय दलको निर्वाचनमा जितेको खण्डमा मात्र गगन प्रधानमन्त्रीको दावेदार बन्नसक्ने कोइरालाले बताए । ‘संसदीय दलले निर्णय गर्नुपर्छ को प्रधानमन्त्री हुने भनेर’ उनले भने, ‘नेता चुनिएपछि मात्रै त्यो व्यक्ति प्रधानमन्त्रीको दावेदार हुन्छ।’ अहिले नै प्रधानमन्त्री तोक्नु हाँस्यास्पद हुने उनले प्रतिक्रिया दिएका छन् ।

कोइरालाले काँग्रेसले चुनाब अगाडि प्रधानमन्त्री घोषणा गर्ने चलन नभएको दावी गरेपनि २०५१ सालको निर्वाचनमा काँग्रेसले २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनाबमा गएको थियो । निर्वाचनमा काँग्रेसले बहुमत ल्याएर भट्टराईलाई प्रधानमन्त्री बनाएको भएपनि एक वर्ष नपुग्दै तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नै सरकार ढालेका थिए भने त्यसपछि काँग्रेस विभाजन हुँदै ज्ञानेन्द्र शाहको शासनमा मुलुक गएको थियो ।

नेता डा.कोइरालाले अर्र्को प्रसंगमा कुनैपनि दलले यही निर्वाचनबाट बहुमत हासिल गर्न नसक्ने बताएका छन् । ‘कसैले बहुमत ल्याउँछु भनेर दाबी गर्छ भने त्यो फुर्सदको प्रचार मात्र हो’ उनले भने । निर्वाचनपछि कांग्रेसले सम्मानजनक सिट ल्याउने उनको भनाइ छ । संविधान संशोधन र निर्वाचन प्रणाली सुधारका काम गर्न आफूले उम्मेदवारी दिएको उनले बताए ।

नेपाली काङ्ग्रेस संस्थापन इतरका शीर्ष नेता कोइरालाको बिमतिबीच गगन थापा पक्षले विशेष महाधिवेशन गराएको थियो । कोइरालाले महाधिवेशनको विरोध गर्दै आएका थिए । उनी गगनसहितका नेताहरुलाई कार्वाही गर्ने संस्थापन पक्षको बैठकमा पनि सहाभगी भएका थिए । अन्तिममा भने उनले गगनलाई सभापति स्वीकार गरेर उनकै हस्ताक्षर रहेको पत्रबाट चुनाब लड्न तयार भए ।

कोइरालाले संविधानको रक्षा गर्न आफू उम्मेदवार बनेको दावी गर्दै संविधानमा धेरै सुधारहरू गरेर जानुपर्ने अवस्था रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस एकजुट रहेको र सबैले सहयोग गरिरहेकोले चुनाब जित्ने उनको दावी छ ।

नयाँ पार्टीहरु स्टन्टमा मात्र केन्द्रित रहेको आरोप लगाउँदै कोइरालाले संगठन चलायमान बनाएर सामाजिक सञ्जाललाई केयर गरेमा कांग्रेसको जित सुनिश्चित हुने बताए । नयाँलाई कसैले नचिनेको भन्दै उनले मिडिया न्युट्रल नभएको आरोप लगाएका छन् । मिडिया पनि नयाँको पक्षमा खुलेको देखिराखेको उनको गुनासो छ । थुप्रै मिडियाहरू नयाँका झोले भएर हिँडेको उनले आरोप लगाए ।

कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा पनि पार्टीलाई चुनाब जिताउन लागिपर्ने विश्वास रहेको बताएका छन् । फागुन ४ पछि चुनाबी अभियानमा देउवा पनि आफ्नो क्षेत्रमा आउने उनको अपेक्षा छ । ‘हामी उहाँहरूको प्रतिक्षा गरिरहेका छौँ र उहाँहरुले हामीलाई गाइड गर्नुहुन्छ भन्ने लागेको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।