पाँचथर । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा संगठनको हिसाबले यहाँ नेकपा एमाले बलियो छ । चर्चाको हिसाबले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार उत्साहित छन् । जेनजी आन्दोलनपछि नेपाली काँग्रेस र एमालेसँग चुलिएको असन्तुष्टिलाई तान्ने प्रयासमा रहेका नेकपाका उम्मेदवार हर्कबहादुर नेम्वाङ (मिक्सो) आफूले चुनाब जित्ने दावी गरिरहेका छन् ।
नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ र नेकपा एमालेका आइन्द्रसुन्दर नेम्वाङबीच परम्परागत प्रतिस्पर्धा रहेपनि दुवै दलभित्रको असन्तुष्टि र मत विभाजनको अवस्थाबाट फाइदा लिने प्रयासमा नेम्बाङ छन् । संगठनका हिसाबले एमाले परम्परागत रूपमा बलियो मानिएपनि उम्मेदवार चयनप्रति देखिएको असन्तुष्टि, पूर्वनेताहरूको असहजता र आन्तरिक ध्रुवीकरणले मत बिखण्डन हुने संकेत देखिएको छ।
काँग्रेसमा अहिले कुनै विवाद नभएको दावी गरिएको छ । तर, २०७९ को अन्तर्घातको स्मृति र गुटगत आरोपले पूर्ण भरोसाको अवस्था बनिनसकेको काँग्रेसकै कार्यकर्र्ता बताउँछन् । गठबन्धनबाट चुनाब लड्दा पनि अघिल्लो निर्वाचनमा काँग्रेसका उम्मेदवार भिष्मराज आङ्दम्बे पराजित भएका थिए । जबकी प्रदेशसभाका दुबै सिट गठबन्धनले जितेको थियो । यसपटक आङ्दम्बे समानुपातिकमा बसेका छन् ।
२०७९ को निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रको १२ हजार १६९ र एकीकृत समाजवादीको ३ हजार ३८६ मत रहेको थियो। अहिले नेकपा एकीकृत भएपछि आधारभूत मत करिब १६ हजारको आसपास देखिन्छ ।
२०७९ मा समानुपातिकतर्फ एमालेले २६ हजार ५९२ र कांग्रेसले १९ हजार ४४ मत पाएको थियो । एमालेभित्र टिकट वितरणप्रतिको असन्तुष्टि, केही नेताको अलग धार र रास्वपाजस्ता दलको प्रवेशले मत गणित परिवर्तन हुनसक्ने संकेत देखिन्छ। कांग्रेसले जितका लागि ठूलो कायापलट गर्नुपर्ने अवस्था छ।
प्रदेशसभामा दुवै क्षेत्रबाट नेकपा विजयी भएकाले संगठनात्मक सञ्जाल सक्रिय रहेको त्यसकै बलमा चुनाब जित्ने दावी नेकपाका उम्मेदवार नेम्बाङको छ । जनयुद्धका घाइते, त्यागी र इमान्दार छविका रूपमा चिनिएका मिक्सो अहिलेसम्म कुनै लाभको पदमा नबसेका व्यक्ति हुन् । जिल्लाका अप्ठ्याराहरूमा निरन्तर खटिएको छवि, जनतासँगको प्रत्यक्ष सम्पर्क र विकासमुखी एजेन्डाले उनलाई ‘नयाँ तर अनुभवी’ विकल्पका रूपमा उभ्याएको छ। उनले आफू परीक्षण नभएको उम्मेदवार भएकाले मतदाताले नयाँ खोज्दा रोजाइमा पर्ने दाबी गर्दै आएका छन्।
जिल्लामा नयाँ र साना दलहरूको सक्रियताले एमाले र कांग्रेसको मत काट्ने अवस्था छ। राष्ट्रिय परिवर्तन पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको पनि जिल्लामा प्रभाब छ । उनीहरुले ठूला दलकै असन्तुष्ट मत केन्द्रित गर्ने देखिएको छ ।
तर, तराई र सहरी क्षेत्रमा जस्तो नयाँ दलप्रति तीव्र लहर पाँचथरमा छैन । त्यसैले असन्तुष्ट मत परम्परागत शक्ति रहेका काँग्रेस र एमालेबाट नयाँ विकल्पमा जानेछ । त्यो विकल्प रास्वपादेखि नेकपा पनि हुने देखिएको छ ।
पाँचथरमा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन्। प्रतिस्पर्धा त्रिपक्षीय देखिएपनि स्थानीय तहमा गरिएको मूल्यांकन अनुसार यदि एमाले र कांग्रेसको मत विभाजित भयो भने संगठित आधार र स्वच्छ छविका कारण मिक्सोलाई सहज बन्न सक्छ। पाँचथरबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्दै अघिल्लो कार्यकालमा लामो समय आर्थिक मामिलामन्त्री रहेका इन्द्रबहादुर आङ्बोको अगुवाइमा भएको विकास निर्माणलार्ई नेकपाले आफ्नो जितको आधार मानेको छ ।
प्रदेश सभा सांसद एवम् नेकपाका नेता आङ्बो भन्छन, ‘स्वच्छ छवि भएको र जनताका हरेक समस्यामा हातेमालो गर्दै हिँडेको नेतृत्व भएकाले यसपटक मिक्सोलाई पाँचथरले जिताउँछ । हाम्रो पार्टीको मत अरुमा जाने सम्भावना न्यून छ। एमाले र कांग्रेसमा जस्तो असन्तुष्टि छैन।’
यद्यपी नेपाली कांग्रेस एक भएको खण्डमा केरुङको पल्लाभारी हुने अनुमान स्थानीयले गरेका छन् । तर, गुटगत राजनीति गरेर विगतमा आफ्नै उम्मेदवार हराउन लागिपरेको आरोप उनीमाथि छ। अहिले उनीमाथि बदला लिने तयारीमा कपिपय काँग्रेसी नै देखिएका छन् ।
कांग्रेसमा गगन थापा पक्षीयउनी विशेष महाधिवेशनपछि केन्द्रीय सदस्य भएका छन्। दुई कार्यकाल जिल्ला सभापति सम्हालेका उनलाई पाँचथरमा गुटगत राजनीति फैल्याउने नायकसमेत भनिन्छ। २०७० मा संविधानसभाको निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर १ बाट नेकपाका गणेश काम्बाङसँग पराजित भएका उनी २०७४ मा प्रदेश सभा (क)मा पनि उनैसँग पराजित भएका थिए ।
केरुङ भने आफ्नो उम्मेदवारीलाई लिएर कांग्रेस एक ढिक्का भएकाले जित्न कुनै कठिन नभएको बताउँछन् । ‘जनताका हरेक समस्याहरूमा म घरघर पुगेर समाधान गर्दै आएको मान्छे हुँ। के चाहिन्छ त्यो सबै मलाई थाहा छ। यो पटक जसरी पनि मलाई जिताउन लागि पर्नुभएको छ’, उनी भन्छन, ‘एमालेले २०७९ को निर्वाचनमा धाँधली गरेर जितेको हो यो पटक कांग्रेस जसरी पनि आउँछ।’
संगठन बलियो भएपनि जेनजी आन्दोलनको दोष टाउकोमा बोक्नु परेकोले एमाले रक्षात्मक छ । एमालेका उम्मेदवार आइन्द्र पूर्वमाले पृष्ठभूमिका हुन् । एमालेको धेरै मत बाँसुरी चुनाव चिन्हले तान्ने देखिएको छ । मिक्लाजुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष रहेकी एमालेकै नेतृ उर्मिला राई सहित याङवरक गाउँपालिकाका एमालेका धेरै पुराना नेताहरू अहिले बाँसुरीतर्फ लागेका छन् ।
हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेदवार ब्रबिन शेर्माले पनि नेपाली कांग्रेस र नेकपा एमालेकै असन्तुष्ट पक्षको मत काट्ने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र विक्रम थम्सुहाङलाई पनि एमाले र कांग्रेसकै धेरै असन्तुष्ट मत जाने अवस्था छ ।
पाँचथरमा संगठनका हिसाबले एमाले परम्परागत रूपमै बलियो शक्ति हो। अहिले बसन्त नेम्बाङ बिरामी परेपछि विकल्प खोजिएको छ। नेम्वाङले २०५१, २०५६, २०७४ र २०७९ मा पाँचथरबाट चुनाब जितेका थिए।
२०७९ को निर्वाचनमा विजयी नेम्बाङ एक वर्ष नबित्दै २०८० माघ १७ गते ताप्लेजुङमा बिरामी भए । उनी अहिलेसम्म तंग्रिएका छैनन्। त्यसकारण प्रतिनिधिसभामा पाँचथरको आवाज ओझेल परेको मतदाता बताउँछन् । अहिलेका उम्मेदवार आइन्द्र २०७९ को निर्वाचनमा प्रदेशसभा (ख) बाट पराजित भएका थिए ।
पाँचथरमा आदिवासी समुदायको लगभग आधाभन्दा बढी बसोबास छ । विशेषत लिम्बु समुदायको बसोबास रहेको यस क्षेत्रमा राई, मगर, तामाङलगायत समुदायहरू मिसमास छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।