लोड हुँदैछ...

मेनु

मोरङ ५ मा शिवकुमार मण्डलको बढ्दो प्रभाव: विकास र जनसम्बन्ध नै मुख्य आधार

मोरङ ५ मा शिवकुमार मण्डलको बढ्दो प्रभाव: विकास र जनसम्बन्ध नै मुख्य आधार


विराटनगर ।
 आगामी निर्वाचनको सरगर्मी बढेसँगै मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा राजनीतिक समीकरण फेरिन थालेको छ । विगतको विकास निर्माणमा खेलेको भूमिका र जनतासँगको निरन्तर समन्वयका कारण यसपटक नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डलको प्रभाव बलियो देखिएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मण्डल नेपाली कांग्रेससँगको गठबन्धनका साझा उम्मेदवार थिए । तर, आन्तरिक घात र स्वतन्त्र उम्मेदवारतर्फको झुकावका कारण उनले पराजय भोग्नुपर्यो । त्यसबेला नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले जित निकालेका थिए । विशेषगरी विराटनगर क्षेत्रबाट कांग्रेसका केही कार्यकर्ता र रंगेली क्षेत्रमा कांग्रेस नेता गयानन्द मण्डल पक्षले गठबन्धनको मर्म विपरीत स्वतन्त्रलाई सघाएपछि शिवकुमार पराजित हुन पुगेका थिए ।

यद्यपि, विगतको पाँच वर्ष र पछिल्लो समयको रिक्तताले मतदाताको सोच बदलिएको छ । “शिवकुमार मण्डल नहुँदा यस क्षेत्रका ठूला विकासका योजनाहरु अलपत्र परेको महसुस जनताले गरेका छन्,” नेकपाका निर्वाचन परिचालन इनचार्ज एवं केन्द्रीय सदस्य भोगेन्द्र यादव भन्छन्, “विगतमा उनले मन्त्री र सांसद हुँदा रंगेलीदेखि विराटनगरसम्म पुर्याएको विकासको जग नै अहिलेको जनलहरको मुख्य कारण हो ।”

कस्तो छ चुनावी अंकगणित ?
उपलब्ध तथ्याङ्क अनुसार यस निर्वाचन क्षेत्रमा ४ वटा स्थानीय तहका कुल २४ वटा वडाहरु समेटिएका छन् । जसमा जहदा गाउँपालिकाका १ देखि ७, धनपालथान गाउँपालिकाका १ देखि ७, रंगेली नगरपालिकाका ४ देखि ७ र विराटनगर महानगरपालिकाका १३ देखि १८ नम्बर वडाहरु रहेका छन् ।

यस क्षेत्रमा कुल मतदाता संख्या १,१०,१७७ रहेको छ, जसमा पुरुष ५९,६२२ र महिला ५०,५५५ जना छन् । वडागत रुपमा हेर्दा विराटनगर महानगरपालिकाको वडा नम्बर १५ मा सबैभन्दा बढी ९,५३८ मतदाता छन् भने जहदा गाउँपालिकाको वडा नम्बर ६ मा सबैभन्दा कम २,१६४ मतदाता रहेका छन् ।

उम्मेदवार र विगतको मत
यसपटक यस क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा राष्ट्रिय ऊर्जाशील पार्टीबाट योगेन्द्र मण्डल, नेकपा एमालेबाट मनोजकुमार अग्रवाल, नेपाली कांग्रेसबाट फुलकुमार लालवानी र जसपाबाट राजकुमार यादव मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले करिब २१,८२० मत ल्याएर विजयी हुँदा शिवकुमार मण्डलले १७,४८६ मत प्राप्त गरेका थिए । तर, समानुपातिकतर्फको मत परिणाम हेर्दा यहाँ नेकपा (एमाले) र नेपाली कांग्रेसको वर्चस्व देखिन्छ । यसपटक भने जनताले “काम गर्ने नेता” खोजिरहेकाले दलगत मतभन्दा माथि उठेर शिवकुमारको पक्षमा माहोल बनेको इन्चार्ज यादवको दाबी छ ।

“निर्वाचनलाई आफ्नो पक्षमा पार्न मण्डलले अहिले घरदैलो, टोल भेला र कोणसभा जस्ता नियमित कार्यक्रमहरुमार्फत जनतासँगको सामीप्यता बढाइरहेका छन् । पार्टी पङ्क्तिलाई प्रभावकारी ढंगले परिचालन गर्न उनले बलियो कमाण्ड संरचना समेत निर्माण गरेका छन् । निर्वाचनको समग्र कमाण्ड केन्द्रीय सदस्य भोगेन्द्र यादवले सम्हालिरहँदा विराटनगर क्षेत्रको जिम्मा देवा यादवले पाएका छन् । त्यस्तै, जहदा क्षेत्रमा राजकुमार यादव र धनपालथानमा श्रवण राय जस्ता स्थापित नेताहरुले कमाण्ड सम्हालेका कारण पनि मण्डल यसपटक जितप्रति थप विश्वस्त देखिएका हुन् । पार्टीभित्रको अभूतपूर्व एकता, जनतामा पुनः फर्किएको विश्वास र अन्य प्रतिस्पर्धीको तुलनामा मण्डलको उँचो राजनीतिक पहुँच नै उनको बढ्दो प्रभावको मुख्य कडी बनेको छ । अझ, यस क्षेत्रमा बलियो प्रभाव राख्ने ठुला दल कांग्रेस र एमालेले तुलनात्मक रुपमा कमजोर जनाधार भएका उम्मेदवार उठाएका कारण त्यसको प्रत्यक्ष लाभ समेत मण्डललाई पुग्ने राजनीतिक विश्लेषण हुन थालेको छ ।”

यादव भन्छन्, “हाम्रो मुख्य एजेन्डा भनेको अधुरा योजना पूरा गर्नु र नागरिकको हकअधिकार सुरक्षित गर्नु हो । मतदाताहरू विगतको आश्वासन र कामको तुलना गरिरहेका छन् । शिवकुमारजीको पक्षमा देखिएको यो सहानुभूति केवल भावना होइन, यो विकासप्रतिको चाहना हो ।”

विराटनगरका वडा नम्बर १३ देखि १८ सम्मका शहरी मतदाताहरुमा पनि यसपटक परिवर्तनको स्पष्ट संकेत देखिएको छ । अघिल्लो पटक ‘स्वतन्त्र’ को लहरमा बगेका मतदाताहरु यसपटक ‘स्थिरता र विकास’ का लागि संगठित दल र अनुभवी नेतृत्वको पक्षमा उभिएका देखिन्छन् । मण्डलको पक्षमा देखिएको यो बढ्दो प्रभावले मोरङ क्षेत्र नम्बर ५ को नतिजा रोचक हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।