लोड हुँदैछ...

मेनु

पूर्वाञ्चल प्लाष्टिक इन्डष्ट्रिज पब्लिक कम्पनीमा रूपान्तरण

पूर्वाञ्चल प्लाष्टिक इन्डष्ट्रिज पब्लिक कम्पनीमा रूपान्तरण

विर्तामोड । झापाको बिर्तामोड–२ मा करिब एक दशकअघि स्थापना भएको पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज प्रालि निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ।

सेवा विस्तार र पूँजी वृद्धि गर्ने उद्देश्यसहित सामूहिक सहभागितामा अघि बढ्दै कम्पनीले सार्वजनिक कम्पनीको रूप लिएको जनाएको छ।

व्यवस्थापनका अनुसार बजारको बढ्दो माग र उद्योगमा हासिल अनुभवका आधारमा तीव्र विस्तार आवश्यक देखिएपछि कम्पनीलाई पब्लिकमा रूपान्तरण गरिएको हो। रूपान्तरणसँगै कम्पनीको चुक्ता पुँजी १३ करोड रुपैयाँ पुगेको छ भने चार जना नयाँ शेयरधनी थपिएका छन्।

कम्पनीले आर्थिक वर्ष २०८२–८३ मा नयाँ मेसिन जडान, उपकरण खरिद, जग्गा खरीद तथा चालु पुँजी व्यवस्थापनका लागि १४ करोड ४१ लाख रुपैयाँ लगानी गर्ने योजना बनाएको छ। लगानीपछि वार्षिक बिक्री १५ करोड रुपैयाँबाट बढेर २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८३–८४ मा थप संरचना निर्माण र अत्याधुनिक उपकरण जडानका लागि १२ करोड १० लाख रुपैयाँ लगानी गरिनेछ। यस विस्तारपछि वार्षिक बिक्री ६० करोड रुपैयाँसम्म पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ।

बिर्तामोडमा गुणस्तरीय पाइप उत्पादन गर्दै आएको कम्पनीले निकट भविष्यमा आईपीओमार्फत सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्ने योजना बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।