विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसले आफ्नो साङ्गठनिक गतिविधि विस्तार गरेको छ । सोही क्रममा कांग्रेसका उम्मेदवार एवं नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकैदिन पार्टीको वडा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।
बुढीगंगा गाउँपालिकाका वडा नम्बर ५ बाहेक ६ वटा वडामा स्थापना गरिएका कार्यालयहरूको उद्घाटन गर्दै डा. कोइरालाले स्थानीय तहमा भएका विकास निर्माणका कार्यबारे चर्चा गरे । उनले पछिल्ला वर्षहरूमा गाउँपालिकाभित्र खानेपानी, सडक सञ्जाल र स्वास्थ्य क्षेत्रमा सुधारका कामहरू भएको उल्लेख गर्दै विकास नभएको भन्ने आलोचनामा सत्यता नरहेको बताए ।
कार्यक्रममा बोल्दै कोइरालाले वि.सं. २०४८ सालपछिका कांग्रेस नेतृत्वका सरकारले लिएका नीतिहरूका कारण ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको पहुँच पुगेको धारणा राखे । उनले राजनीतिक परिवर्तनसँगै विकासको जग बसाल्न कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत कांग्रेसले अहिले मतदाताहरूसँग भेटघाट र वडा तहमा संवादलाई प्राथमिकता दिइरहेको छ । डा. कोइरालाले विभिन्न पेशागत समूह र स्थानीय बासिन्दासँग भेटघाट गरी उनीहरूका समस्या र अपेक्षाबारे जानकारी लिइरहेका छन् ।

सो अवसरमा कांग्रेसकी समानुपातिक उम्मेदवार रुक्मिणी कोइरालाले संविधानको कार्यान्वयन र लोकतान्त्रिक पद्धतिको सुदृढीकरणका लागि कांग्रेसको पक्षमा जनमत आवश्यक रहेको बताइन् । अर्का समानुपातिक उम्मेदवार प्रमिला गच्छदारले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न जिम्मेवार शक्तिलाई मतदान गर्नुपर्नेमा जोड दिइन् ।
कांग्रेस बूढीगंगा गाउँपालिकाका उपसभापति किरण चौधरीले पार्टीले निर्वाचनलाई लक्षित गरी वडा तहसम्मै साङ्गठनिक संरचनालाई सक्रिय बनाउँदै लगेको जानकारी दिए । अभियानका क्रममा नेताहरूले स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै पार्टीका एजेन्डाबारे स्पष्ट पारेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।