लोड हुँदैछ...

मेनु

मोरङ–२ : डा. मिनेन्द्रलाई मत जोगाउने चुनौति

मोरङ–२ : डा. मिनेन्द्रलाई मत जोगाउने चुनौति

विराटनगर । रतुवामाई नगरपालिका वडा नं. ५, गोविन्दपुर मोरङको क्षेत्र नम्बर २ मा पर्छ । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको चर्चा यस ठाउँमा नहुने कुरै भएन । किनकी यहाँका मतदाताले यसअघि पटकपटक गिरिजाप्रसाद कोइरालालाई जिताएका छन् । राजनीतिक हिसावले काँग्रेस र एमालेका जननेता स्वर्गीय मदन भण्डारीको घर रहेको निर्वाचन क्षेत्र पनि यही हो ।

गोविन्द पुर चोक पुग्दा स्थानीय चिया पसलमा केही जेष्ठ नागरिकहरु राजनीतिक गफगाफमा व्यस्त थिए । अग्रभागमा ढाका टोपी र गुलाबी धर्का भएको सर्ट लगाएका ८२ वर्षीय वृद्ध जीवन चापागाईं देखिन्छन् । उनले बताएका अनुभवले वर्तमान राजनीतिक अवस्थाप्रतिको असन्तुष्टि उत्कर्षमा रहेको प्रष्ट पार्छ ।

जीवनका आठ दशक पार गरिसकेका चापागाईंसँग देशका धेरै राजनीतिक परिवर्तनको अनुभव छ । तर अहिलेको अवस्था देख्दा उनी निकै मर्माहत र आक्रोशित सुनिन्छन् । चापागाईंले देशमा इमान्दारिता हराउँदै गएको बताए । ‘अहिलेको राजनीतिमा ७० प्रतिशत त लुटेराहरू मात्र छन्, ३० प्रतिशत मात्र इमानदार होलान् । नेता मात्र होइन, यहाँ त पुलिस, सेना, न्यायाधीश सबै एउटै मिलेमतोमा छन् । न्यायाधीशले गरिब देख्यो भने थुन्छ, तर प्रधानमन्त्रीको मान्छेले करोडौँ भ्रष्टाचार गरे पनि छुट पाउँछ,’ उनले भने, ‘भारतको उत्तर प्रदेश (यूपी) मा ३० करोड जनसंख्या छ, त्यहाँ एउटा मुख्यमन्त्री छ । यहाँ ३ करोड जनसंख्या पनि छैन, ७ वटा मुख्यमन्त्री किन चाहियो ? हिंजो ५ रुपैयाँ मालपोत तिर्ने ठाउँमा अहिले ११ हजार पु¥याइदिएका छन् । यो सबै सुकिला–मुकिला नेता र मन्त्री पाल्नका लागि हो ।’

नेपालको भू–राजनीतिमाथि पनि उनको आफ्नै दृष्टिकोण छ । नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनिए पनि अहिले परिस्थिति बदलिएको उनको बुझाइ छ । ‘अहिले त भारत र चीन मात्र होइन, यहाँ त अमेरिका पनि छिर्न खोज्दैछ । भारतलाई बाटो चाहियो, चीनलाई सुरक्षा र अमेरिकालाई आफ्नो अखडा । हाम्रा नेताहरू चाहिँ राष्ट्रवादी होइन, व्यापारी भए । उनीहरूले आफ्नो पद र पैसाका लागि देशलाई कता लैजाँदै छन्, पत्तो छैन,’ उनले थपे ।

परम्परागत दलहरूप्रति चापागाईंको ठुलो गुनासो छ । तर, नयाँप्रति पनि उत्तिसारो विश्वास गरिहाल्न सकेका छैनन् । ‘वर्षौँदेखि यिनै अनुहारलाई जिताइयो, तर रतुवाको पुल बनेन, बाटो उस्तै छ । अब त छोरा–नाति पुस्ताले घण्टी र बालेन भन्न थालेका छन् । बालेन पनि चक्रव्यूहमा छन् ।’

सोही निर्वाचन क्षेत्रमा पर्ने रतुवामाई ६ का ८३ वर्षीय हरि बहादुर खड्काको भोगाइ निकै लामो छ । उनी २०१५ सालको पहिलो निर्वाचनको पनि थोरै थोरै अनुभव बताउँछन् । मातृकाप्रसाद कोइराला, विपी कोइराला, गिरिजा प्रसाद कोइराला सबैलाई हेरिएको बताउने उनी अहिले सन्तानहरु लाखापाखा लागेपछि एक्लै गाइ पालेर बसेका छन् । ‘म एक्लै गाई पालेर बसेको छु, श्रीमती बितेको १८–१९ वर्ष भयो । छोराहरू कोही काठमाडौँ छन्, कोही बाहिर । गाईको सेवा गर्छु, दूध खान्छु, चिया खान बजार आउँछु । कसैको कुरा सुन्दिनँ, आफ्नो मनले जे भन्छ, त्यही गर्छु,’ उनले कुराको सुरुवात गरे, ‘हामीले त मातृका प्रसाद कोइरालादेखि कोइराला परिवारलाई छोडेको छैन । गिरिजा प्रसाद, आमोद उपाध्याय सबैलाई भोट हालियो । मेरो त रगतमै कांग्रेस छ जस्तो लाग्छ ।’

तर, उनी अहिलेको परिस्थिति भिन्न भएको बताउँछन् । ‘पहिले मान्छेले एउटाले भनेको मान्थे, अहिले त कसैले कसैको भनेको मान्दैनन् । एकछिन सुने जस्तो मात्र गर्छन्, तर आखिरमा आफ्नै मनको गर्छन्। अचेलका मान्छे पहिले जस्ता छैनन्,’ उनले भने, ‘अहिले त नयाँ आइदिए हुन्थ्यो । बालेन र घण्टीको कुरा छ । अब पहिलेकाले त के–के गरे सबै देखियो, पालो गरौँ न । अब ५–६ पल्ट प्रधानमन्त्री हुँदा के पो गरियो र ? केसुकै होस् यसपालि एकपटक नयाँलाई नै दिएर हेरौँ न त भन्ने विचार पनि छ । अब नयाँलाई एकचोटि हेर्नैपर्छ ।’

उनले जेनजी आन्दोलनका क्रममा काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पत्तीमाथि भएको आक्रमणलाई इंगित गर्दै अझै नचेतेको बताए । ‘देउवा ५–६ पटक प्रधानमन्त्री भए । हिजो अस्ति भर्खर पनि मुखबाट खुन (रगत) आउञ्जेल कुटिए, तैपनि फेरि प्रधानमन्त्री नै हुनुपर्ने ? कति पटक भएपछि अघाउने यिनीहरू ?,’ उनले आक्रोश पोखे ।

रतुवामाई नगरपालिकाको ५ र ६ मा जोड्ने कट्नु खोलामाथि पुल छैन, तर पुलका ठिङ्ग उभिएका पिलरहरू छन् । विगत सात वर्षदेखि ठगिएका पिलरका छडहरु खिला लागिसके । पुलको पिलर देखाउँदै ६६ वर्षीय गोविन्द प्रसाद खनाल भन्छन्, ‘यो पुल बनाउन थालेको ५–७ वर्ष भइसक्यो । सुरुमा पुरानो पुल थियो, एउटा ट्रकले ठोकिदिएपछि बीचैमा भत्कियो । त्यसपछि यो नयाँ बनाउन पिलर गाडेर छाडेका छन् । नेताहरू आउँछन्, पुल बन्छ भन्छन् । तर पुलको अवस्था उस्तै छ ।’ उनलाई चुनाव हुँदैछ भन्ने थाहा भएपनि अहिलेसम्म कसैले भोट नमागेको बताए । गाउँमा मत परिवर्तन गर्ने कुरा भने सबैले गरेको सुनेको उनको भनाइ छ ।

रतुवामाई ६ को सौठा बजारको चिया पसलमा भेला भएका आधा दर्जन मानिसहरु पनि निर्वाचनमा कसको अवस्था के छ भन्ने विषयमै छलफलमा छन् । जीवनका सात–आठ दशक पार गरिसकेका वृद्धहरू पनि कुराकानीमा सक्रिय देखिए । रतुवामाई–६ कै ७९ वर्षीय लक्ष्मीप्रसाद घिमिरेले नयाँलाई भोट दिने भनिरहँदा एक अधवैंशे युवाले भने पुरानाले जिते भने के गर्ने भनेर प्रश्न सोधे । त्यसको जवाफ दिँदै घिमिरे चेतावनी शैलीमा हेर्दै जाउँ भन्दै उठेर हिंडे । यसअघि काँग्रेसमा भोट दिँदै आएका, तत्कालिन माओवादीलाई र एमालेलाई भोट दिँदै आएकाहरुले अधिकांशले मत परिवर्तन गर्ने बताए ।

स्थानीय शिक्षक मोहनप्रसाद दासको विश्लेषणमा अहिलेको निर्वाचनमा नयाँ भन्नेहरु धेरै रहेको आफूले पनि सुनेको बताउँछन् । ‘जनतालाई त विकास नै चाहियो । विकास भनेको बाटो–घाटो, सिँचाइ, बिजुली–बत्ती र प्रमुख कुरा रोजगारी हो । स्वदेशमै रोजगारी भएको भए हाम्रा छोराछोरी किन विदेश जान्थे,’ उनले भने ।

रतुवामाइ ६ कै ७७ वर्षीय कर्ण बहादुर बस्नेत भन्छन्, ‘झापा विद्रोहदेखि अहिलेसम्म सबै भोगियो । तर अहिले त नेताहरू केवल कमाई खाने भाँडो मात्र भए । देशको लागि कसैले सोचेनन् । केपी ओलीले राम्रो गर्छन् कि भन्ने थियो, तर उनले पनि के नै गरे र ? अब त नयाँ हेर्ने इच्छा छ ।’

सुनवर्षी डायनिया चोकमा एउटा इलेक्ट्रिक मेसिन मर्मत केन्द्र छ । जहाँ बेचन लाल गोडी र राजेश कुमार मेसिन मर्मत गरेको हेरेर बसेका छन् । काम गरिरहेका पसलका संचालक सुकया दास पसलको अगाडि पट्टि भण्डा राखेर बसेका छन् । झण्डा राख्नुभएछ त भनेर सोध्दा उनले भने, ‘सबै आउँछन् राखेर जान्छन् । झण्डा जो सुकैले राखोस् आफ्नो मनले मत दिने हो ।’

कुराकानी गरेका अधिकांश पात्रहरूको एउटै स्वर छ, ‘अब परिवर्तन चाहिन्छ ।’ कोही पुराना दलका कार्यकर्ता भए पनि आफ्ना छोराछोरी र नातिनातिनाले पनि मत बदल्न दबाब दिइरहेको बताउँछन् ।

मोरङ २ को इतिहास

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङको २ नम्बर क्षेत्रबाट काँग्रेसले डा. मिनेन्द्र रिजाललाई उम्मेद्वार बनाएको थियो । त्यसबेलाको बाम गठबन्धनको दबदबाकाबीच रिजालले एमालेका उम्मेद्वार ऋषिकेश पोखरेलाई पराजित गरे ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा परिस्थिति उल्टियो । तत्कालिन काँग्रेस सभापति शेरबहादुर देउवाले रिजालाई उम्मेद्वार बन्नै दिएनन् र गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई टिकट दिए । त्यसबेला कोइरालालाई माओवादीलगायतका दलले सहयोग गरेका थिए । त्यसबेला भने कोइरालालाई एमालेका ऋषिकेश पोखरेलले पराजित गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भने मोरङ क्षेत्र नम्बर २ मा ऋषिकेश पोखरेल र सुजाता कोइराला दुवैले मैदान छाडेका छन् ।

त्यहाँ नेकपा एमालेले रंगेलीका निवर्तमान नगरप्रमुख दीलिप बगडियालाई मैदानमा उतारेको छ भने काँग्रेसबाट फेरि डा. मिनेन्द्र रिजाल उम्मेद्वार बनेका छन् । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कृष्ण कार्कीलाई उम्मेद्वार बनाउँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चन्द्रवीर राईलाई उम्मेद्वार बनाएको छ ।

मोरङ क्षेत्र नम्बर २ (तत्कालिन १ नम्बर क्षेत्र) २०४८ देखि २०५६ सम्म पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लगातार तीन पटक जितेको क्षेत्र हो । २०६४ सालको संविधानसभा निर्वाचनमा देशभर तत्कालिन माओवादीको लहर आउँदा पनि मोरङ क्षेत्र नम्बर १ कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्यायले चुनाव जितेका थिए । २०६४ सालमा मोरङमा कांग्रेसबाट प्रतिनिधिसभा जित्ने उनी एक्लो उम्मेदवार थिए ।

२०७९ सालको निर्वाचनमा ३३ हजार १४८ मतसहित एमालेका ऋषिकेश पोखरेल विजयी हुँदा सुजता कोइरालाले ३१ हजार ९४० मत प्राप्त गरेकी थिइन् । रास्वपा उम्मेदवार ठगेन्द्र न्यौपानेले त्यतिबेला ४ हजार ९८७ मत प्राप्त गरेका थिए ।

कानेपोखरी गाउँपालिकाका १, २, ३, पथरीशनिश्चरे नगरपालिकाका ५ र ६, रंगेली नगरपालिकाका १, २, ३, ८ र ९ वडा, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाका १० वटै र सुनवर्षी नगरपालिकाका ९ वटै वडा रहेको क्षेत्र नम्बर २ मा २०७९ को स्थानीय तह निर्वाचनमा वडातहमा एमालेले ३१ हजार ३४० मत पाउँदा कांग्रेसको २८ हजार ६१४ मत पाएको थियो । यो क्षेत्रमा यस पटक १ लाख २९ हजार १८४ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।