विराटनगर । झापा क्षेत्र नम्बर ५ फागुन २१ गते हुने निर्वाचनको लागि देशकै मुख्य क्षेत्र हो । यहाँबाट भावी प्रधानमन्त्रीका दुई उम्मेद्वार चुनावी मैदानमा छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेको विगतमा ठूलो मतान्तरले विजयी हुँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेतासमेत रहेका बालेन्द्र शाह भावी प्रधानमन्त्रीका उम्मेद्वार पनि हुन् ।
एमालेले ओलीलाई र रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको घोषणा गरिसकेका छन् । दुवै भावी प्रधानमन्त्रीको प्रतिस्पर्धाको चेपुवामा परेका छन्, नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार रञ्जित तामाङ र नेपाली काँग्रेसकी उम्मेद्वार मन्धरा चिमरिया । उनीहरुसहित सो क्षेत्रमा २४ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । थोरै भएपनि चर्चामा रहेका अर्का उम्मेद्वार हुन् श्रम संस्कृति पार्टीका समीर तामाङ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार फागुन ४ गतेदेखि मात्रै प्रचार गर्न पाइन्छ । तर, झापा ५ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । शुक्रबार र शनिबार सो क्षेत्रका विभिन्न ठाउँमा पुग्दा उम्मेदवार र दलका गतिबिधि बढ्दै गएको स्पष्टै देखिन्थ्यो ।
चिया, चौतारा, चोक बजार र गाउँहरुमा चुनावकै चर्चा सुनिन्थ्यो । उम्मेदवार र दलका कार्यकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त थिए ।
शनिबार बिहान दमक नगरपालिका–३ को ढुकुरपानीस्थित सुकुम्बासी बस्तीमा रहेको ज्योती चर्च मण्डलमा रास्वपाको टोली भेटियो भने एमाले अध्यक्ष ओली कमल गाउँपालिका–१ को सरङपाडा बजारमा मतदाता भेटघाटमा व्यस्त देखिए । अघिल्ला निर्वाचनमा सभा गर्नुबाहेक घरदैलो अभियान नगर्ने ओली यस पटक भने चोक बजारमा नमस्कार गर्दै हिँडेका थिए । उनी स्थानीय कर्णबहादुर खड्काको घरमा आयोजना गरिएको पुराणमा सहभागी भए ।
पुराणमा पुगेर ओलीले धर्म र संस्कृतिबारे प्रबचन दिए । उनले शिव भगवानदेखि विश्वमित्र ऋषिसमेत यहि क्षेत्रमा जन्मिएको आफ्नो पुरानो दावी दोहोर्याउँदै सनातन धर्म र संस्कारको रक्षा गर्नुपर्ने बताए ।
ओली पुराणमा पुग्दा ठूलो टोली थिएन । उनका आलोचकले ओलीको पछाडि मान्छे हिँड्न छाडेकोले यस्तो भएको बताइरहँदा एमाले कार्यकर्ता भने चुनाबी आचारसंहिता अनुसार सानो टोली लिएर हिँडेको बताइरहेका थिए । पुराणमा सहभागी कतिपय ओलीलाई भेट्न र फोटो खिच्न पाएकोमा खुसी देखिन्थे भने कतिपय यस पटक मत परिवर्तन गर्ने बताइरहेका थिए । ओली शनिबार कमल गाउँपालिकाको छलफल चोक, सोलमारी, सरङपाडा, ढ्यांग्री, क्याम्पा र केर्खा बजारमा पुगेका थिए ।
दबाबमा काँग्रेस र नेकपा
विशेषगरी दक्षिणी गौरिगञ्ज क्षेत्रका ग्रामीण बस्तीमा बालेनको प्रभाव बलियो देखिएको छ । कतिपय मतदातालाई उम्मेदवार र पार्टीको नामसमेत थाहा नभएपनि ‘घण्टीमा भोट हाल्ने’ अडान स्पष्ट रोखका छन् । प्रतिस्पर्धामा अर्का उम्मेद्वार एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै द बाब महसुस गरिरहँदा नेकपा र काँग्रेसका उम्मेद्वारमा भने झनै ठूलो दबाबमा परेका छन् ।
स्थलगत रिपोर्टिङका क्रममा नेकपाका उम्मेदवार रञ्जीत तामाङ झापाको गौरिगञ्ज गाउँपालिका र गौरादह नगरपालिकाका ग्रामिण बस्तीमा भेटिए । गौरादह ७ तामाङ टोलमा मतदातको घरमा गएर उनी चुनाबी एजेण्डाबारे बताइरहेका थिए । मतदाताका प्रश्न ध्यानपुर्वक सुनेर उनले जवाफ दिन्थे । आफू स्थानीय बासिन्दा रहेको, क्षेत्रको समस्या बुझेको र युवाको प्रतिनिधित्व गर्ने एक मात्र उम्मेदवार रहेको उनको भनाइ थियो ।

‘यस क्षेत्रमा केपी ओलीले विदा लिनुपर्ने अवस्था छ, त्यसको विकल्प म हुँ’ उनले भनिरहेका थिए, ‘क्षेत्रको समस्या, भुगोल र बस्तुस्थिति नबुझेको बालेन पाहुना मात्र हुन्, पाहुनलाई सम्मान गर्दै मलाई मत दिनुहोस् ।’ ग्रामिण क्षेत्रका केहि मतदाता उनीप्रति युवा र प्रष्ट बक्ता रहेको भन्दै सकारात्मक सुनिए ।
कतिपयले भने तामाङ उपयुक्त पात्र भएपनि केपी ओलीलाई चुनाब हराउन बालेनलाई सहयोग गर्ने बताइरहेका थिए । ‘म सबै मतदाताहरूको घरदैलोमा पुगेर राजनीतिक स्थायित्व, शासकीय स्वरूपमा सुधार (प्रत्यक्ष निर्वाचित कार्यकारी), भ्रष्टाचार अन्त्य र युवाहरूको रोजगारलाई मुख्य प्राथमिकताका साथ उठाइरहेको छु,’ उनले प्रतिक्रिया दिँदै भने, ‘सबैभन्दा ठूलो कुरा युवाहरूमा आशा जगाउने र उनीहरूलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउनु हो । यसका साथै कृषि, उद्योग, कलकारखाना र भूमिहीन सुकुम्बासीहरूका पक्षमा स्पष्ट नीति र कार्यक्रम हुनुपर्छ भन्ने मेरो अडान छ ।’
ओली र बालेनको प्रतिस्पर्धामा हराएको हो भन्ने प्रश्नमा उनले भने, ‘यो प्रायोजित चर्चा र हल्ला मात्र हो । पूर्व प्रधानमन्त्री र काठमाडौंका पूर्व मेयर बालेन शाहको अहंकारका कारण मुलुक दुर्घटनामा परेको छ । उनीहरूको यो भिडन्तमा मुलुक रमाइरहेको जस्तो देखिए पनि म जनताको सुख–दुःखमा जोडिएको स्थानीय व्यक्ति हुँ,’ उनले भने, ‘म हराएको छैन । म जनतासँगै छु । यो भूगोल र गुगलको लडाइँ पनि हो । बाहिरबाट आउनेलाई यहाँका स्थानीय मुद्दा थाहा पाउन गुगल सर्च गर्नुपर्ने स्थिति छ । जनताले टाढाका देवता भन्दा गाउँका भूत नै काम आउँछन् भन्ने बुझेका छन् । म जनताको मलामी र जन्ती दुवै भएर बसेको व्यक्ति हुँ, त्यसैले मेरो विकल्प म नै हुँ ।’

शनिबार बिहानै नेपाली काँग्रेका उम्मेदवार मन्धरा चिमरिया भने दमक ५ मा मतदातासँगको भेटघाटमा थिइन् । ८–१० जना सहयोगीसहित भेटिएकी उनले अन्य दलको सामाजिक सञ्जालमा चर्चा रहेपनि आफूहरु जनताको बिचमा गइरहेको बताइन् । उनले आफू वर्षौदेखि सामाजिक क्षेत्रमा काम गरेकोले मतदातको विश्वास जित्ने दावी गरिन् ।
‘चुनावी घरदैलो अभियान राम्रो छ । अहिले हामी मिटिङ र घरदैलो हल्का गर्दैछौँ, मिटिङ बढी छ हाम्रो । समिति गठन गरिरहेका छौँ । हामी वडैपिच्छे २९ वटै वडामा समिति गठन गर्दै गइरहेका छौँ । अब ५ वटा वडा बाँकी छ । त्यो पनि हामी यो २–४ दिनमा सकेर अनि ४ गतेदेखि उता ¥याली हुन्छ,’ उनले भनिन्, ‘प्रतिस्पर्धीहरू पनि नेपालकै नागरिक हो, उहाँहरूले पनि यिनै ग्रास लेभलको मान्छेहरूसँग भोट माग्ने हो । म त झन् यहीँ काम गरेको मान्छे भएकोले गर्दा मलाई सहज पनि भएको छ । मैले यही क्षेत्रमा धेरै वटा काम गरेको छु, विभिन्न संघसंस्था चलाएको छु । राजनीति गरेको ३५ वर्ष भयो । म पाहुना पनि होइन, म यहाँको लोकल व्यक्तित्व हुँ ।’
उनले आफू पनि नहराएको बताइन् । ‘म हराएको छैन, हामी भोटरको नजिक छौँ, उहाँहरू मिडियाको नजिक हुनुहुन्छ । त्यति फरक हो । उहाँहरूले चोकमा भाषण गर्ने, हामी घरदैलोमा मत माग्ने, त्यही हो,’ उनले भनिन् ।
भावी प्रधानमन्त्री भनेर घोषणा गर्दा तपाई सांसद मात्रै बन्नेलाई किन मत हाल्नु भन्दैनन् भन्ने प्रश्नमा उनले भनिन्, ‘म यहाँको जनताको प्रतिनिधित्व गर्दै गगन थापालाई मत हालेर उसलाई देशको प्रधानमन्त्री बनाउँछु । म प्रधानमन्त्री बन्छु हैन, गगन थापालाई प्रधानमन्त्री बनाउनको लागि मेरो आवश्यकता छ र यहाँको जनताको उनीहरूको विचारहरूलाई मैले त्यहाँ पु¥याउनु छ ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।