सङ्खुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै सङ्खुवासभामा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको यस हिमाली जिल्लामा यस पटकको निर्वाचन विगतको तुलनामा निकै फरक र रोचक हुने देखिएको छ। विशेषगरी दशकौँदेखि आलोपालो र एकछत्र राज गर्दै आएका पुराना शक्तिहरू नेपाली कांग्रेस र नेकपा (एमाले) लाई नयाँ राजनीतिक दल र उदीयमान अनुहारहरूले कडा चुनौती दिएका छन्।
जिल्लामा १५ राजनीतिक दल र एक स्वतन्त्र गरी कूल १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। औपचारिक रूपमा चुनावी अभियान सुरु नभए तापनि उम्मेदवारहरू यतिबेला मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन्। यस पटक मतदाताको मनोविज्ञान ‘परिवर्तन’ तर्फ झुकेको देखिएकाले पुराना दलहरूको साख जोगाउन हम्मेहम्मे पर्ने देखिएको छ।
मुख्य प्रतिस्पर्धा: पुराना भर्सेस नयाँ
सङ्खुवासभामा यसअघिका निर्वाचनहरूमा मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) बिच नै प्रतिस्पर्धा हुने गरेको थियो। तर, यस पटकको समीकरण बदलिएको छ। आगामी फागुन २१ को निर्वाचनमा एमाले र कांग्रेसलाई कडा चुनौती दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुख्य प्रतिस्पर्धीका रूपमा उदाएका छन्।
जिल्लामा यस पटक सबै प्रमुख दलले नयाँ अनुहारलाई मैदानमा उतारेका छन्। नेकपा (एमाले) बाट पूर्व अमेरिकी राजदूत तथा कूटनीतिज्ञ डा. अर्जुन कार्की, नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य दिपनकुमार श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट पूर्व प्रदेश सभा सदस्य सरिता थापा खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विश्वप्रसिद्ध पर्वतारोही मिङ्मा शेर्पा चुनावी मैदानमा छन्। यी चारै जना उम्मेदवार आ-आफ्नो क्षेत्रमा स्थापित व्यक्तित्व हुन्, जसले गर्दा मतदातालाई कसलाई छान्ने भन्ने धर्मसङ्कट परेको छ।
के नयाँ दल वा नेकपाले मार्ला त बाजी ?
विगतमा कांग्रेस र एमालेका उम्मेदवारले पालैपालो जित्दै आए पनि यस पटक नयाँ दलहरूको मुद्दा र प्रतिबद्धताले पुराना दलहरूलाई रक्षात्मक बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङ्मा शेर्पाको ‘पर्यटन र विकास’ को एजेन्डा र नेपाल कम्युनिस्ट पार्टीकी सरिता थापा खड्काको ‘इमानदारी र जनताको सेवा’ को छविलाई मतदाताले निकै चासोका साथ हेरेका छन्।
नेकपाकी उम्मेदवार सरिता थापा खड्का २०७४ मा एमालेबाट समानुपातिकतर्फ कोशी प्रदेश सभा सदस्य भइसकेकी अनुभवी नेतृ हुन्। शिक्षण पेसाबाट राजनीतिमा आएकी खड्काको सङ्खुवासभाका गाउँ-बस्तीमा गहिरो सम्बन्ध छ। उनी भन्छिन्, “म मेरो अनुभव, इमानदारी र जनताको अटुट विश्वासका कारण मैदानमा छु। यस पटक सङ्खुवासभाली जनताले निष्ठाको राजनीति रोज्नेछन् र हामीले बाजी मार्नेछौँ।”
अर्कातर्फ, रास्वपाका उम्मेदवार मिङ्मा शेर्पा ८ हजार मिटरभन्दा माथिका सबै १४ वटा शिखर आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका व्यक्तित्व हुन्। साहसिक पर्यटनका पर्याय मानिने शेर्पा पहिलो पटक प्रत्यक्ष राजनीतिमा होमिएका छन्। उनले भने, “जनताले पुराना दलहरूबाट आजित भएर परिवर्तन खोजेका छन्। म संखुवासभाको विकास र समृद्धिमा नयाँ रेकर्ड कायम गर्न चुनावी मैदानमा आएको हुँ।”
पुराना दलको रक्षात्मक रणनीति
विगतको विरासत जोगाउन कांग्रेस र एमालेका उम्मेदवारहरू पनि निकै मिहिनेत गरिरहेका छन्। एमालेका उम्मेदवार डा. अर्जुन कार्की विकास चिन्तक र कूटनीतिज्ञ भएकाले उनले बौद्धिक तप्काको मत तान्ने अपेक्षा गरिएको छ। त्यस्तै, कांग्रेसका दिपनकुमार श्रेष्ठ विद्यार्थी आन्दोलनदेखि पार्टीको केन्द्रीय तहसम्म पुगेका नेता हुन्। २०५३ मा नेविसंघको जिल्ला अध्यक्ष बनेका श्रेष्ठ २०८२ मा पार्टीको केन्द्रीय सदस्य बनेका थिए।
दुवै दलका नेताहरूले विगतमा जस्तै आफ्नो जित सुनिश्चित भएको दाबी गरे पनि नयाँ शक्तिहरूको बढ्दो प्रभावले उनीहरूभित्र त्रास पैदा गरेको स्थानीय विश्लेषण छ। मादी नगरपालिका–४ का स्थानीय वासुदेव दाहाल भन्छन्, “यस पटक पुराना दलका ठुला आश्वासनभन्दा नयाँ दलका ठोस एजेन्डाले जनतालाई आकर्षित गरेको छ। नतिजा सोचेभन्दा फरक आउन सक्छ।”
अन्य उम्मेदवार र चुनावी मुद्दा
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पदमबहादुर तामाङ पनि प्रतिस्पर्धामा छन्। त्यस्तै, श्रम संस्कृति पार्टीबाट उमादेवी राई, राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम वालिङ राई, नेकपा (माओवादी) बाट पुष्पबहादुर कोइराला, जसपा नेपालबाट भरतकुमार राई र नेमकिपाबाट राजकुमार लघू लगायतका उम्मेदवारहरू पनि आ–आफ्ना एजेन्डा लिएर गाउँ पसेका छन्।
सबै उम्मेदवारका साझा मुद्दा सुशासन, विकास, पर्यटन प्रवर्द्धन, कृषिमा आधुनिकीकरण र भ्रष्टाचार नियन्त्रण नै रहेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँबस्तीमा चुनावी चर्चा चुलिएको छ।
तथ्याङ्कमा सङ्खुवासभाको चुनावी अवस्था
यस पटक सङ्खुवासभामा कूल १ लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन्। जसमा ६२ हजार १ सय ७२ पुरुष र ५७ हजार ४ सय ५८ महिला मतदाता छन्। जिल्लाभर १ सय ९ मतदान स्थल र १ सय ६४ मतदान केन्द्र तोकिएका छन्।
२०७० र २०७९ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो भने २०७४ मा एमालेले बाजी मारेको थियो। त्यस्तै २०६४ मा माओवादीले समेत यहाँ प्रभुत्व जमाएको थियो। तर, यस पटक पुराना अनुहारहरू राजेन्द्रप्रसाद गौतम, दीपक खड्का र पूर्णप्रसाद राई मैदानमा नहुनुले पनि प्रतिस्पर्धालाई नयाँ मोड दिएको छ।
नयाँ दलहरूको उभार, पुराना दलप्रतिको असन्तुष्टि र प्रभावशाली नयाँ उम्मेदवारहरूको उदयले यस पटक सङ्खुवासभाको प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्ति वा नेपाल कम्युनिस्ट पार्टीले बाजी मार्ने सम्भावना बलियो बन्दै गएको छ। फागुन २१ को नतिजाले नै सङ्खुवासभाको नयाँ राजनीतिक भविष्यको फैसला गर्नेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।