सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन २१ दशमलव ५ मेगावाट क्षमताको सभाखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेकथ्रु’ गरिएको छ।
सभाखोलाको पानी उपयोग गरी निजी क्षेत्रको पहलमा अघि बढाइएको यस आयोजनाको ४ हजार ११० मिटर लामो मुख्य सुरुङ सफलतापूर्वक छिचोलिएको हो।
सभापोखरी गाउँपालिका–३ मा रहेको इन्टेक एरियाबाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको सुरुङ आइतबार एक कार्यक्रमबीच ‘ब्रेकथ्रु’ गरिएको हो। कार्यक्रममा अर्बिट इनर्जी लिमिटेडका प्रवन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ‘ब्रेकथ्रु’ घोषणा गरेका थिए।
सभापोखरी गाउँपालिका–३, ४ र ५ वडामा आयोजना निर्माणको काम भइरहेको छ। मुख्य सुरुङ ‘ब्रेकथ्रु’ भएपछि अब बाँकी कंक्रिट लाइनिङको काम अगाडि बढाइने आयोजनाले जनाएको छ। सुरुङबाट आएको पानीलाई १ हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत् गृहमा पुर्याई विद्युत् उत्पादन गरिनेछ।
आयोजनाका इन्चार्ज कृष्णप्रसाद पन्तका अनुसार हालसम्म आयोजनाको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् खाँदबारी नगरपालिका–१० स्थित सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जडान गरिनेछ। प्रसारण लाइनतर्फको काम पनि करिब ६० प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ।
आयोजना निर्माण कार्य ०७९ कात्तिक २३ गते सुरु भई २०८३ वैशाख २३ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ। आयोजनाबाट २०८३ वैशाखदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ।
सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रहरूमा हालसम्म स्थानीय रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा बेलिब्रिज पुल निर्माण जस्ता कार्यहरू गरिएको आयोजनाले जनाएको छ। सभाखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कम्पनी वैभव पावर नेपाल प्रालि रहेको छ। आयोजनाको कुल लागत करिब ५ अर्ब रुपैयाँ रहेको बताइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।