लोड हुँदैछ...

मेनु

बुधबार पनि घट्यो नेप्से, कारोबार रकम खुम्चियो

बुधबार पनि घट्यो नेप्से, कारोबार रकम खुम्चियो

विराटनगर । बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

यस दिन नेप्से परिसूचक १.६४ अंक घटेर २६८१.५० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुवै ०.१९ अंकले घटेका छन्।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार ८ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२६ स्टकको ८० हजार ४२२ पटकको कारोबारमार्फत ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन चार स्टक सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किटमा पुगेको हो। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ प्रतिशतले बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। कारोबारमा आएको एचएलआई लार्ज क्याप फण्डको इकाईमूल्य भने सर्वाधिक ५.५४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ८० करोड ७७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि एसवाई प्यानल नेपालको करिब साढे ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ।

बजारका १३ उपसमूहमध्ये बुधबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ०.९३ प्रतिशतले बढेको छ। विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहका परिसूचक पनि सामान्य बढेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।