लोड हुँदैछ...

मेनु

अमेरिका–भारत व्यापारिक ‘शितयुद्ध’को अन्त्य: ट्रम्प र मोदीबीच ऐतिहासिक सम्झौता

अमेरिका–भारत व्यापारिक ‘शितयुद्ध’को अन्त्य: ट्रम्प र मोदीबीच ऐतिहासिक सम्झौता

विराटनगर । केही समयदेखि चुलिएको व्यापारिक तनाव र उच्च भन्सार दरको ‘शितयुद्ध’ अन्त्य गर्दै अमेरिका र भारतबीच ऐतिहासिक व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि दुई देशबीचको आर्थिक सम्बन्धमा नयाँ अध्याय सुरु भएको हो ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस सम्झौताको घोषणा गर्दै अमेरिकाले भारतीय वस्तुमा लगाउँदै आएको २५ प्रतिशत भन्सार दरलाई १८ प्रतिशतमा झार्ने जानकारी दिएका छन् । यसअघि अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्म भन्सार लगाएको थियो, जसका कारण भारतीय निर्यात तीव्र रूपमा घटेको थियो ।

सम्झौताको सबैभन्दा महत्वपूर्ण पक्ष भारतले रुसबाट तेल खरिद रोक्ने निर्णय गर्नु हो । ट्रम्पका अनुसार भारतले अब रुसको सट्टा अमेरिका र सम्भवतः भेनेजुएलाबाट इन्धन खरिद गर्नेछ । यसबापत अमेरिकाले रुसी तेल खरिद गरेकै कारण भारतमाथि लगाएको अतिरिक्त २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ तत्काल हटाउने भएको छ ।

बदलामा भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्ने र ऊर्जा, प्रविधि, कृषि तथा कोइला लगायतका क्षेत्रमा ५०० अर्ब अमेरिकी डलरभन्दा बढीका अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री मोदीले यसलाई दुई ठूला अर्थतन्त्र र लोकतन्त्रको साझा जित भन्दै राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।

यो सम्झौता भारतले युरोपेली संघ (ईयू) सँग ऐतिहासिक व्यापार सम्झौता गरेको एक साताभित्रै बाहिर आएको हो । यद्यपि, अमेरिकाले भारत–ईयू सम्झौताको भने आलोचना गरेको छ । सीबिएन (CBN) सँग कुरा गर्दै अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टले युरोपको रवैयाप्रति निराशा व्यक्त गरे पनि भारतले आफ्नो हितमा लिएको पछिल्लो कदमले दुई देशबीचको कटुता मेट्ने संकेत गरेका छन् । यस सम्झौतापछि अमेरिकी सेयर बजारमा समेत सकारात्मक प्रभाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।